प्रहरीको कुटाइबाट पीडा बढ्यो : वरिष्ठ नेता पौडेल

admin

काठमाडौं, १८ मंसिर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रहरीको कुटाइबाट आफूलाई पीडा बढेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले हिजो भन्दा आज दुखाइ बढेको भन्दै गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा नमिलेको बताएका छन् ।

पौडेलले लेखेका छन्, ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसोभन्दा साँझ दुखेर आयो, हिजोभन्दा आज दुखाइ बढी छ । सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन । असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।’

बुधबार तनहुँको व्यास नगरपालिकाको १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले बल प्रयोग गरी पक्रेको थियो । पक्राउ परेको ३ घण्टापछि प्रहरीले उनलाई छोडेको थियो ।

पुल उद्घाटनका विषयमा कांग्रेस र नेकपा निकट राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले त्यहाँ निषेधाज्ञा जारी गरेको थियो । नेकपा पक्षको चर्को विरोध र प्रशासनको निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न पुग्नेका नेता पौडेललाई उनकै सुरक्षाको लागि पक्राउ गरिएको प्रहरीले जनाएको थियो ।

जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार नै उपभोक्ता समितिलाई पुलको उद्घाटन रोक्न पत्राचार गरेको थियो । तर जिल्ला प्रशासन कार्यालयको पत्रलाई बेवास्ता गर्दै उपभोक्ता समितिले पौडेललाई पुल उद्घाटनको लागि बोलायो । पौडेल पनि प्रशासनको आग्रह विपरीत पुल उद्घाटन गर्न पुगेका थिए ।

पुलको उद्घाटन रोक्न माग गर्दै नेकपा समर्थित राष्ट्रिय युवा संगठनले बुधबार मोटरसाइकल र्यालीसहित विरोधका कार्यक्रम तय गरेपछि जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पुल आसपासको क्षेत्रमा बिहान १२ बजेदेखि साँझ ६ बजेसम्मको लागि निशेषाज्ञा जारी गरेका थिए ।

प्रतिक्रिया