काठमाडौंका विद्यालय सञ्चालनमा, केही पालिकामा भने खुल्ने तयारी

admin

काठमाडौं, २१ मंसिर : कोरोना भाइरस (कोभिड-१९)को माहामारी अत्यन्तै जोखिम रहेको काठमाडौंमा पनि केही विद्यालय खुलेका छन् । कोरोना संक्रमणको जोखिम कम भएका ठाउँमा विद्यालयहरु खुल्न थालेका हुन् ।

सरकारले कोरोनाको जोखिम कम भएका ठाउँमा पालिकासँगको समन्वयमा विद्यालय खोल्ने निर्णय गरेपछि विद्यालय सञ्चालनमा आउन थालेका हुन् । अन्य विद्यालय खुल्ने क्रममा छन् । केही विद्यालय भने तत्काल नखुल्ने भएको छ ।

काठमाडौंको दक्षिणकाली नगरपालिकामा वडा नम्बर ९ मा रहेको इन्द्रायणी प्राथमिक विद्यालयमा गएको मंसिर ३ गतेदेखि पढाइ हुन थालेको छ । प्रधानाध्यापक भक्तनारायण मानन्धरका अनुसार सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गरिएको हो ।

विद्यालय खोले पनि पूरै पढाइ भने भएको छैन । बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म स्कुल खुल्छन् । एउटा कक्षालाई तीन वटा सेक्सन बनाएर राख्ने गरिएको छ । एउटा बेञ्चमा २ जना विद्यार्थी मात्र राखिन्छ । मास्क अनिवार्य गरिएसँगै हात धुनका लागि साबुन पानी र स्यानिटाइजरको पनि व्यवस्था गरिएको छ । विद्यार्थीलाई त्यहाँ वरपर खेल्न दिइएको छैन ।

अहिले पनि झण्डै ७५ प्रतिशत विद्यार्थी उपस्थित हुने गरेका छन् । एक दिनमा एउटा कक्षाका विद्यार्थीलाई मात्र बोलाइन्छ । मानन्धरका अनुसार लामो समय विद्यालय बन्द हुँदा वैकल्पिक माध्यमबाट पढाइलाई निरन्तरता दिन कठिन भएको छ । दक्षिणकाली नगरपालिकाका अरु केही विद्यालय पनि सञ्चालनमा आएका छन् ।

केही पालिकामा खुल्ने तयारी
काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा पनि विद्यालय खोल्ने तयारी भैरहेको छ । यस्तै, बुढानिलकण्ठ नगरपालिकाले विद्यालयको क्षमता र विद्यार्थी संख्या हेरेर विद्यालय खोल्ने तयारीमा रहेको जनाएको छ ।

यसैगरी तारकेश्वर नगरपालिकाले पनि स्वास्थ्य मापदण्ड अपनाएर केही दिनमै विद्यालय सञ्चालन गर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले पनि केही दिनमै विद्यालय सञ्चालन गर्ने जनाएको छ । कीर्तिपुर नगरपालिकाले भने संक्रमणको जोखिम कायमै रहेकाले तत्काल विद्यालय खोल्ने तयारीमा नरहेको जनाएको छ ।

त्यस्तै, शंखरापुर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर अनुकूल हुने गरी पठनपाठन सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेको मेयर सुवर्ण श्रेष्ठले जानकारी दिएका छन् । टोखा नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड बनाएर मात्र विद्यालय खोल्ने तयारी गरेको मेयर प्रकाश अधिकारीले बताए ।

काठमाडौं महानगरपालिका र नागार्जुन नगरपालिकले भने तत्काल विद्यालय नखोल्ने भएको छ । जनप्रतिनिधि र अभिभावकबीच छलफल गरी आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड बनाएर मात्र विद्यालय सञ्चालन गर्ने तयारी हुँदैछ ।

एकै पटक धेरै विद्यार्थी भेला गराउँदा संक्रमणको जोखिम हुने भएकाले बिहान र बेलुका दुई समयमा आलोपालो गरेर विद्यालय खोल्ने तयारी भइरहेको छ । पालिकाहरुसँग बुझिए अनुसार दुई, चार दिन विद्यालयमा पढाइ सुरु गरेर फेरि बन्द गर्ने स्थिति नआओस् भन्ने उद्देश्यले तत्काल विद्यालय खोल्ने तयारी नगरेको हो ।

प्रतिक्रिया