‘दि भ्वाइस अफ नेपाल सिजन ३’को अडिसन सुरु, कसरी सहभागी हुने ?

admin

काठमाडौं, २१ मंसिर : नेपाली टेलिभिजन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल-१/२’ले करोडौं नेपालीको मन जितेसँगै ‘दि भ्वाइस अफ नेपाल सिजन-३’ को डिजिटल अडिसन सुरु भएको छ । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ ।

यो शोको तेस्रो सिजनका लागि शनिबारबाट डिजिटल अडिसन सुरु गरिएको हो । १६ बर्ष उमेर पुगेका यूवायूवतीदेखि ४५ बर्षसम्मका प्रतिभाहरुले यो रियालिटी शोमा भाग लिन पाउनेछन् । डिजिटल अडिसनमार्फत् आफ्नो गीतको भिडियो रेकर्ड पठाई आवेदन दिन सकिनेछ ।

अडिसनमा नेपाली नागरिकमात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका विदेशी वा विदेशी नागरिक पनि सहभागी हुन सक्नेछन् । यस्ता प्रतिभाहरु अडिसन दिन वा कार्यक्रममा सहभागीता जनाउनका लागि काठमाडौंमा भौतिकरुपमै उपस्थित भने हुनुपर्नेछ ।

सहभागी कसरी हुने ?
‘दि भ्वाइस अफ नेपाल सिजन ३’ को डिजिटल अडिसनमा सहभागी हुन ‘दि भ्वाइस अफ नेपाल’को अफिसियल एप डाउनलोड गरी फारम भर्नुपर्छ । फारम भरेपछि मोबाइलमार्फत् नै गीत रेकर्ड गरी पठाउनुपर्ने छ ।

आफ्नो रेकर्ड पठाएपछि अडिसनमा सहभागीताको प्रमाणस्वरुप आबेदनकर्ताले एउटा कोड प्राप्त गर्नेछन् । तर, मोबाइल एपमार्फत् अडिसन दिन असमर्थ भएको खण्डमा बिभिन्न सामाजिक सञ्जालमा रहेका ‘दि भ्वाइस अफ नेपाल’का पेजमार्फत् पनि अडिसनमा सहभागी हुन सकिने छ ।

प्रयोगकर्ताले फेसबुकमा रहेको ‘दि भ्वाइस अफ नेपाल’को पेजमा गई म्यासेन्जरमा समेत भिडियो पठाउन सक्नेछन् । कुनैपनि डिजिटल माध्यममा पहुँच नहुने प्रतिभाहरु पनि यो अडिसनबाट बञ्चित हुनुपर्ने छैन । इन्टरनेटको पहुँच नभएका प्रयोगकर्ताले ‘दि भ्वाइस अफ नेपाल’को उत्पादन टीमको फोन नम्बर ९८४१-५३४४२८ मा फोन गरेर पनि अडिसनका लागि समन्वय गर्न सक्नेछन् ।

आवेदकहरुले सोही नम्बरको भाइवर वा ह्वाट्सएपमा पनि भिडियो रेकर्ड गरी पठाएर अडिसनमा सहभागी हुन सक्नेछन् । सिजन २ मा आफ्नो टीमका राम लिम्बुलाई उपाधि दिलाउन सफल टीम प्रमोदका कोच तथा गायक प्रमोद आचार्यले सिजन ३ को उपाधिका लागि दावेदारीसहित अडिसनमा आउन नवप्रतिभाहरुलाई आह्वान गरेका छन् ।

यस्तै, सिजन २ देखि भ्वाइसमा आवद्ध भएका कोच राजु लामाले पनि सिजन ३ मा नयाँनयाँ प्रतिभासँग काम गर्न आफु निकै उत्साहित रहेको बताए । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुनेछ ।

‘दि भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार डिजिटल अडिसनमार्फत् सहभागी भएका प्रतिभाहरुको क्षमता परीक्षणपछि १ सय जना प्रतिभाहरुलाई ब्लाइन्ड अडिसनमा सहभागी गराइने छ ।

प्रतिक्रिया