विदेशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या तीन सय नाघ्यो, छिट्टै खोप आउने विश्वास

राष्ट्रिय समाचार समिति

काठमाडौं, २१ मंसिर : विश्वका विभिन्न २० देशमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या तीन सय नाघेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो हप्ता थप दुई नेपालीको ज्यान गएसँगै विदेशमा ज्यान गुमाउने नेपालीको संख्या तीन सय एक पुगेको छ ।

यो हप्ता जर्मनीमा एक र भारतमा एक नेपालीको कोरोनाका कारण ज्यान गएको हो । कोरोनाका कारण जर्मनीमा रहेका नेपालीको ज्यान गएको यो पहिलो घटना भएको कोभिड-१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो हप्ता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ । शनिबार साँझसम्म विदेशका ४९ देशमा ४८ हजार ६ सय ३९ गैरआवासीय संक्रमित भएका छन् ।

त्यही अवधिमा ४४ हजार ६७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कूल संक्रमितको ९१ प्रतिशत रहेको हो । अहिलेसम्म नेपालमा मात्र दुई लाख १६ हजार ५ सय ९४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने तीमध्ये दुई लाख ३४ हजार ७५६ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९२ दशमलव तीन प्रतिशत रहेको छ । नेपालमा कोरोनाको संक्रमणका कारण एक हजार ५ सय २९ जनाको ज्यान गएको छ ।

छिट्टै खोप आउने विश्वास
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सापकोटाले कोरोना भाइरसविरुद्धको खोप अब छिट्टै प्रयोगमा आउने सङ्केत देखापरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

रुसले निर्माण गरेको स्पुत्निक पाँच खोपको सामूहिक परीक्षण शुरु गरिएको र बेलायत तथा बहराइनले अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले संयुक्तरुपमा निर्माण गरेका खोपको प्रयोगका लागि अनुमति दिएसँगै नयाँ आशा पलाएको उनको भनाइ छ ।

प्रतिक्रिया