एन्टिजेन परीक्षण पीसीआरको विकल्प हुन सक्दैन : विज्ञ

admin

काठमाडौं, २१ मंसिर : विज्ञहरूले एन्टिजेन परीक्षणलाई पीसीआरको विकल्पको रूपमा प्रयोग गर्न नहुने बताएका छन् । ​एन्टिजेनबाट गलत रिपोर्ट आउन सक्ने भएकाले कोरोना भाइरस परीक्षणमा एन्टिजेनलाई पीसीआरको विकल्पको रूपमा प्रयोग गर्न नहुने विज्ञहरूले बताएका हुन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)का खोप विज्ञ डा. तीर्थ घिमिरेले पीसीआरले भाइरस भित्र रहेको आनुवंशिक पदार्थलाई सजिलै चिन्ने तर एन्टिजेनले भाइरसका टुक्राटुक्रीलाई मात्रै चिन्ने विशेषता रहेको बताए ।

त्यसकारण एन्टिजेनबाट फल्स (गलत) रिपोर्टसमेत आउने भएकाले यसलाई पीसीआरको विकल्पमा लिन नहुने बताए । एन्टिजेन परीक्षण गर्दा कहिलेकाहीँ कोभिड-१९ संक्रमण भएकालाई नभएको र नभएकालाई भएको रिजल्ट दिने भएकाले यसलाई पीसीआरको विकल्पमा प्रयोगमा ल्याउन नहुने डा. घिमिरेले बताए ।

‘पीसीआरको विकल्पमा एन्टिजेन टेस्ट हुन सक्दैन । पीसीआर भनेको हाइली एडभान्स टेक्नोलोजी हो । उनले भने, पीसीआर एउटा कन्फमेटरी अर्थात् कोभिड छ भनेर पक्का गर्ने अथवा छैन भनेर पक्का गर्ने विधि हो । तर यो एन्टिजेन परीक्षण कन्फर्म परीक्षण होइन । यसमा फल्स पोजेटिभ अथवा फल्स नेगेटिभ नतिजा आउन सक्छ । त्यो भनेको मेरो शरीरमा कोभिड-१९ नहुँदा नहुँदै पनि कहिलेकाहीँ देखाइदिने र कोभिड-१९ छ भने पनि नदेखाइदिने एन्टिजेन परीक्षणले गर्छ ।’

एन्टिजेन परीक्षण सस्तो, छिटो र सजिलो छ भन्दैमा पीसीआरको विकल्पको रूपमा प्रयोग गर्न नहुने बताए । एन्टिजेनलाई अत्यावश्यक अवस्थामा मात्रै प्रयोग गर्न सकिने उनको भनाइ छ । त्यसबाहेक समूहमा बसोबास गर्नेहरूमा यसबाट परीक्षण गरी स्थितिको बारेमा जानकारी लिन सकिने पनि डा. घिमिरेले बताए । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं माइक्रो बायोलोजिस्ट मेघराज बन्जाराले एन्टिजेन परीक्षण परीक्षणकै रूपमा रहेकाले अहिले नै पीसीआरको विकल्पमा प्रयोग गर्न नहुने बताए ।

उनले भने, ‘यो एन्टिजेन परीक्षण परीक्षणकै क्रममा रहेकोले प्रयोग गर्न हुन्छ वा गर्न हुन्न भन्ने अवस्थामा म छैन । तर, यसको नतिजालाई पीसीआरको नतिजासँग तुलना गरेर यदि यसको पर्फमेन्स पनि, सेन्सेटिभिटी, स्पेसिफिसिटी पनि विश्व स्वास्थ्य सङ्गठनले दिएको मार्गदर्शन अनुसारको र हाम्रो देशमा परीक्षण गर्दा पनि रियल टाइम पीसीआर जत्तिकै सेन्सेटिभ भयो भने यसलाई प्रयोग गर्न सकिन्छ ।’

अहिले प्रयोगमा आएका एन्टिजेन परीक्षणहरू कुनै पनि आधिकारिक निकायबाट प्रमाणित भइसकेको छैन । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले पनि आपत्कालीन स्वीकृति मात्रै दिएको बन्जाराले बताए । अहिले सबै ठाउँमा एन्टिजेन परीक्षण परीक्षणकै रूपमा रहेको र यसको नतिजा उच्च संवेदनशील, उच्च विशिष्टिकृत र राम्रो नतिजा भएको र विश्व स्वास्थ्य सङ्गठनले ८० प्रतिशतभन्दा बढी सेन्सेटिभिटी भयो भनेर प्रमाणित गर्‍यो भने मात्रै पीसीआरको विकल्पमा प्रयोग गर्न सकिने पनि बन्जाराले बताए ।

उनले भने, ‘यो एन्टिजेन टेस्ट पनि एफडीए स्वीकृत भएका, सीडीसी स्वीकृति भएका, सीएबाट स्वीकृति भएका यस्ता एन्टिजेन टेस्ट गर्ने टेस्टहरू त्यति छैनन् । अरू एफडीएहरूले पनि आपत्कालीन स्वीकृति मात्रै दिएका छन् । सबै परीक्षणको क्रममै रहेका छन् । तर यदि एन्टिजेन परीक्षण, उच्च संवेदनशील, उच्च विशिष्टिकृत र राम्रो नतिजा भएको र विश्व स्वास्थ्य सङ्गठनले त्यस्ता टेस्टहरूको सेन्सिटिभिटी ८० प्रतिशतभन्दा माथि हुनुपर्छ भनेको छ र त्यस्ता टेस्टहरू आए भने रियल टाइम पीसीआरको विकल्प हुन सक्छ । अहिले परीक्षणको रूपमा भएको हुनाले विकल्प भएन । रियल टाइम पीसीआर नै सबैभन्दा भरपर्दो डायग्नोसिस गर्ने माध्यम भयो ।’

सरकारले भने कोभिड-१९ संक्रमणको पहिचानका लागि भन्दै एन्टिजेनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजेनमा आधारित परीक्षणबाट कोभिड सङ्क्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाडौं उपत्यकामा परीक्षण सुरु भएको हो ।

प्रतिक्रिया