वामदेवका प्रेस संयाेजकले भने : ‘सूर्य थापा भन्ने केटोको काम दलाली र चाकडी गर्ने हाे’

admin

काठमाडौं, २१ मंसिर  :सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाकाे काम नै दलाली, चाकडी र अर्काको हुर्मत लिनु रहेकाे आराेप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामाे स्टाटस लेख्दै सुवेदीले यस्ताे आराेप लगाएका हुन् । प्रधानमन्त्रीका सल्लाहकार थापाले वामदेव गाैतमकाे डाेरी नाघेर बाटाे काट्दै गरेकाे तस्बिर हालेर ‘काे कस्ताे छ तस्बिर काफी छ’ भनेर पाेस्ट गरेका थिए ।

नेकपाको सचिवालय बैठकमा गौतमले प्रधानमन्त्रीका सल्लाहकार थापाका कारण प्रधानमन्त्रीको बदनाम भएकाे भन्दै थापालाई पदबाट हटाउन आग्रह गरेपछि थापाले गाैतमकाे पुरानाे उक्त तस्बिर पोस्ट गरेर व्यंग्य गरेका थिए ।

गाैतमका प्रेस संयाेजक सुवेदीले २०७४ सालको चुनावमा गौतमलाई हराउन भूमिका खेलेको भन्दै त्यस्ता व्यक्तिलाई कार्वाही हुनुपर्नेमा उल्टै प्रधानमन्त्रीको सल्लाहकार बनाइएकोमा असन्तुष्टिव्यक्त गरेका छन् ।

‘सूर्य थापा भन्ने केटो, जसको काम–पेसा भन्नु नै दलाली, चाकडी र अर्काको हुर्मत लिनु हो । त्यसले नेकपा उपाध्यक्ष क. वामदेव गौतमको ७ वर्ष पुरानो फोटो हालेर उहाँमाथि एउटा संक्षिप्त, तर गम्भीर टिप्पणी गरेको छ’, सुवेदीले लेखेका छन्, ‘उक्त फोटोमा कुनै हतारोको समयमा असावधानीपूर्वक बाटो काटिएको देखिन्छ । जसप्रति उहाँले तत्कालै क्षमा मागिसक्नुभएको छ ।’

सुवेदीले उक्त फाेटाे हालेकामा आफ्नाे आपत्ति नभई पार्टी उपाध्यक्षका विरुद्ध सामाजिक सञ्जालमा टिप्पणी लेख्ने नियतको विराेध गरेकाे पनि उनले जनाएका छन् । ‘सवाल फोटोको होइन, मुलुकका प्रधानमन्त्रीको प्रेस सल्लाहकारको बिल्ला भिरेर पार्टी उपाध्यक्षका विरुद्ध सामाजिक सञ्जालमा टिप्पणी लेख्ने नियतको हो’, उनले भनेका छन्, ‘सूर्य थापा को हो, जसले पार्टी उपाध्यक्षदेखि उसलाई मन नपरेका नेताबारे भनेकै बेलामा, भनेकै भाषा–शैलीसहित गाली गलौज गर्न पाउने ? पार्टीको केन्द्रीय सदस्यले नेताविरुद्ध जहाँ पनि, जसरी पनि टिप्पणी गर्न पाउने अधिकार कहाँबाट पायो ?’

०७४ को चुनावमा वामदेवलाई हराउन मतियारी गरेका आधार, प्रमाणसहित पार्टीमा उजुरी परेकाले कारबाही हुनुपर्छ भन्ने पुरानै माग फेरि दोहोरिने बताएका छन् । ‘त्यस्तो मान्छे प्रधानमन्त्रीको सल्लाहकार बनाएर राखिएको छ । यो सरकार अलोकप्रियता हुनु, प्रधानमन्त्रीमाथि अवाञ्छित टिप्पणी हुनुको ठूलो हिस्सा त्यही सूर्यले ओगटेको छर्लङ्ग छ’, उनले लेखेका छन्, ‘कहिले ट्विटर ह्यान्डलबाट प्रधानमन्त्रीलाई बद्नाम बनाउने, कहिले विभिन्न व्यक्तिमाथि टिप्पणी गर्दै प्रधानमन्त्रीलाई आलोचित बनाउने, दिनरात विभिन्न नियुक्तिका बार्गेनिङ चलाएर दलाली गर्ने र प्रधानमन्त्रीप्रतिको दृष्टिकोण खराब बनाउने यस्ता घटिया मान्छेलाई त्यो सम्मानित दर्जामा किन राखिएको हो ? यस्ता प्रश्न उठ्छन् नै ।’

आफ्नाबारे कसैले प्रशन उठाएमा त्यसकाे जवाफ दिनतिर लाग्न छाडेर थापाले आफ्नै पार्टीका नेताप्रति विषवमन गरेकाे आराेप लगाए । ‘खासमा यो सूर्य थापा भनेको कुनै संगठन प्रणालीबाट विकास भएर आएको नेता होइन । जनताको बीचमा कार्यक्षेत्र बनाएर आजसम्म काम गरेको छैन’, उनले भनेका छन्, ‘काठमाडौं आउँदा सरस्वती क्याम्पसको पढाई खर्च धान्नका लागि कांग्रेससम्बद्ध पुनर्जागरण पत्रिकामा जागिर खाएर टेपरेकर्ड काण्ड लागेको मान्छे । ०५१ मा मनमोहन सरकार बनेपछि गोरखापत्रमा जागिर खान दौडिएर नसकेपछि दृष्टिमा भर्ति भएको र त्यसपछि पार्टी अफिसको जागिर खाँदै नेताको चाकडी बजाएको भरमा अहिले केन्द्रीय सदस्यसम्म भएको मान्छे हो ।’

पार्टीको मुखपत्र नवयुग मुद्रणमा भएको घोटाला काण्ड फेरि खोतल्न माग गर्दै सुवेदीले अरू कार्यकर्ताले पार्टीलाई लेबी तिर्ने तर थापाले तलबले नपुगेर चोरेर खान पनि भ्याएकाे आराेप लगाएका छन् । ‘अखिलको क्याम्पस प्राकमा सचिवसम्म भएको मान्छे त्यसपछि कहिल्यै पनि समुदायको बीचमा राजनीति नगरी कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य बन्नु आफैँमा आश्चर्यको विषय हो’, उनले भनेका छन्, ‘माधव नेपाल शक्तिमा आए उनैको भक्ति, झलनाथ आए उनैको, अहिले केपी ओली हुँदा फेरि तिनैको फेरो समातेर नेतालाई मनलाग्दी लेख्दै भन्दै हिँड्न पाउने यो साँढेलाई तह लगाइयोस् भन्ने माग थुप्रै कार्यकर्ताले गर्नु स्वाभाविक पनि छ ।’

प्रतिक्रिया