ईयूद्वारा हवाई सेवामा सुधारको प्रशंसा, उडान प्रतिबन्ध हट्ने सङ्केत

admin

काठमाडौं, २२ मंसिर : नेपाली हवाई सेवा प्रदायकलाई उडानमा प्रतिबन्ध लगाएको युरोपेली सङ्घ (ईयू) ले उडान खुला गर्न सकिने सङ्केत दिएको छ । हवाई सुरक्षामा प्रश्न उठाउँदै सात वर्षअघि नेपाली हवाई सेवा प्रदायकलाई उडान प्रतिबन्ध लगाउने गरी सुरक्षा सूचीमा राखेको ईयूले नेपालको पछिल्लो समयको सुधारलाई प्रशंसा पनि गरेको छ ।


अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै ईयूले हवाई सुरक्षामा देखिएको चुनौती समाधान गर्न नेपाल सरकारले देखाएको प्रतिबद्धताका कारण आएको सुधारको प्रशंसा गरेको हो । ‘नयाँ हवाई उड्डयन विधेयक संसद्मा दर्ता गराएको सहित नेपालले गरेका सुधारका विषयमा ईयू जानकार छ’, विज्ञप्तिमा उल्लेख छ ।

दर्ता भएको विधेयकको व्यवस्था अनुसार कार्यान्वयनमा ल्याउनु महìवपूर्ण हुने पनि ईयूले जनाएको छ । नेपालको यस्तो प्रयासले सुरक्षा सूचीबाट हटाउने प्रक्रिया सुरु गर्न सहज हुने ईयूले उल्लेख गरेको छ । खासगरी संसद्मा दर्ता भएको विधेयकले सुरक्षा सूचीबाट हटाउन लागू हुने तीनवटा मापदण्ड कार्यान्वयनमा लैजान सकिने पनि ईयूले स्पष्ट पारेको छ । विज्ञप्ति अनुसार ब्रसेल्समा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पछिल्लो पटक भएका सुधारका विषयमा प्राविधिक छलफल अघि बढाउन सकिने बाटो यसले खुला गरेको छ ।

त्यसैगरी हवाई सुरक्षाको प्रभावकारी कार्यान्वयन भए नभएको जानकारी लिन महानिर्देशक सहितको टोलीले नेपालमा भ्रमण गर्ने र नियोगले तयार गरेको प्रस्तावका आधारमा युनियनको हवाई सुरक्षा समितिले सुरक्षा सूचीबाट हटाउन सकिने प्रक्रिया पूरा हुनेछ ।

सुरक्षा सूचीबाट बाहिरिएपछि सङ्घको हवाई सुरक्षा एजेन्सीबाट नेपालको मागका आधारमा आवश्यक प्राविधिक सहयोग समेत उपलब्ध गराउन सकिने विज्ञप्तिमा जनाएको छ । ईयूले नेपाललाई सन् २०१३ डिसेम्बर ५ देखि सुरक्षा सूचीमा राखेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया