काठमाडौं महानगरका सबै विद्यालयमा नेवारी भाषाको पाठ्यक्रम

admin

काठमाडौं, २२ मंसिर : काठमाडौं महानगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा नेपाल भाषा (नेवारी भाषा)को पाठ्यपुस्तक पठनपाठन गर्नुपर्ने भएको छ। महानगरपालिकाले कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रुपमा ‘येँ देय् म्हसीके’ नामक स्थानीय विषयको पठ्युस्तक पठनपाठन गराउने भएको हो।

नेपालको संविधानको भाग ३ धारा ३२ को उपधारा (२) र (३)मा मुलुकका हरेक स्थानीय तहबाट स्थानीय पाठ्यक्रमका रुपमा आफैंले एक विषय अध्ययन अध्यापन गराउन सक्ने व्यवस्था भएअनुसार महानगरले सो पाठ्यक्रमको विकास गरेको हो। यो पुस्तक महानगरपालिका भित्रका सबै संस्थागत तथा सामुदायिक विद्यालयहरुमा पढाइने महानगरपालिकाका शिक्षा विभाग प्रमुख नवराज ढकालले बताए।

पाठ्यक्रममा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप, कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक र प्राकृतिक स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपिजस्ता विषयहरु समेटिएका छन्। काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेत पाठ्यक्रममा समेटिएको ढकालले बताए।

महानगरपालिकाभित्र ९२ वटा सामुदायिक विद्यालय र ६४० वटा संस्थागत विद्यालय रहेका छन्। यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन हुने पनि ढकालले बताए।

प्रतिक्रिया