दिल्ली छिर्ने सबै नाका ठप्प, मुख्यमन्त्री केजरीवाल नजरबन्दमा

admin

काठमाडौं, २३ मंसिर : भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा भारतमा अहिले किसान आन्दोलन चलिरहेको छ । आन्दोलनरत किसान र आन्दोलनका समर्थकले मंगलबार भारत बन्द गरिरहेका छन् ।

किसानको भारत बन्द कार्यक्रमलाई २० राजनीतिक दल र १० ट्रेड युनियनहरूले समर्थन गरिरहेको भारतीय मिडियाले जनाएका छन् । किसानको आन्दोलनमा समर्थन जनाइरहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई नजरबन्दमा राखिएको दाबी गरिएको छ ।

दिल्ली प्रहरीले केजरीवाललाई घरबाट बाहिर निस्कन नदिएको आरोप आम आदमी पार्टी (आप)ले लगाएको छ । आपका अनुसार केजरीवाललाई बाहिर निस्कन दिइएको छैन भने उनको घरमा कसैलाई पनि आउजाउ गर्न दिइएको छैन् । दिल्ली प्रहरीले भने यस कुरालाई अस्वीकार गरेको छ ।

केजरीवाललाई कुनै रोक नलगाएको र इच्छा अनुसार आउजाउ गर्नसक्ने प्रहरीको भनाइ छ । बन्द सफल पार्नका लागि आन्दोलनरत किसानले विभिन्न राज्यबाट दिल्ली प्रवेश गर्ने सबैजसो नाका ठप्प बनाएको भारतीय मिडियाहरूले जानकारी दिएका छन् ।

किसानहरूले चारैतिरबाट दिल्लीलाई घेरिरहेका छन् । केन्द्र सरकारले कृषि कानुन फिर्ता लिने लिखित प्रतिवद्धता जनाएमा मात्रै आन्दोलन रोक्ने अडान किसानहरुको छ । उनीहरुले अहिलेको जारी भएको कृषि कानुन फिर्ता लिएर सरकारले किसान संगठन तथा विज्ञको परामर्शमा नयाँ कानुन ल्याउनु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया