सगरमाथाको नयाँ उचाइ सार्वजनिक, ८८४८.८६ मिटर

admin

काठमाडौं, २३ मंसिर : सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ । मंगलबार नेपाल र चीन बीचको संयुक्त बैठकले सगरमाथाको नयाँ उचाइ घोषणा गरेको हो । नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको हो ।

दुई वर्ष अघिदेखिको सर्वेक्षणबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ सगरमाथाको उचाइ सार्वजनिक गरिएको हो । चीनका राष्ट्रपति सी चिनफिङ गएको वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो ।

आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको हो । यसअघि भारतले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको हो । त्यतिबेलाको मापनमा प्राप्त उचाइ आठ हजार आठ सय ४८ मिटरलाई नेपालले मान्यता दिएको छ । सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए ।

अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो । चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टान भागको मात्र उचाइ लिइएको थियो । यसपटक हिउँ सतहसहित सगरमाथाको मापन गरिएको हो ।

प्रतिक्रिया