प्रधानमन्त्रीद्वारा राजावादीविरुद्ध एकजुट हुन आह्वान

admin

काठमाडौं, २३ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी र हिंसात्मक गतिविधि गर्ने विरुद्ध एकजुट हुन संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बसेको सर्वदलीय बैठकको सुरुमै संविधान र गणतन्त्र विरोधी गतिविधिविरुद्ध सबै एक हुनुपर्ने समय आएको बताएका हुन् । 

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुलाई स्वागत गर्दै पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने स्पष्ट पारेका छन् । 

प्रधानमन्त्री ओलीले उक्त बैठकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एकजुट हुन आह्वान गरेका हुन् । बैठकमा राजतन्त्रको पक्षमा भएका आन्दोलनबारे गम्भीर बन्दै, देशका विभिन्न ठाउँमा भएका प्रदर्शन तथा कोरोना संक्रमण नियन्त्रणबारे छलफल भएको थियो ।

दलहरूभित्रको किचलोलाई कारण देखाएर परिवर्तन विरोधीहरू सलबलाउन थालेको भन्दै उनले यसका विरुद्ध एक हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीको आह्वानमा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै तीन घण्टा छलफल चलेको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकमा कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने, सरकारका गतिविधि र बढ्दो भ्रष्टाचारका कारण नागरिकमा निराशा छाएको, राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन बढेको लगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया