चिडियाखाना भोलिदेखि खुल्ने, टिकट ई सेवामार्फत

admin

काठमाडौं, २४ मंसिर : चैत ७ गतेदेखि बन्द रहेको सदर चिडियाखाना बिहीबारदेखि खुल्ने भएको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्दै चिडियाखाना खोल्न लागिएको चिडियाखानाका प्रमुख डा. चिरञ्जीवि प्रसाद पोखरेले जानकारी दिएका छन् ।

अवलोकन गर्न आउनेले अनिवार्य मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने छ । एकपटकमा ७ सयदेखि ८ सयजनासम्म दर्शक चिडियाखाना भित्र प्रवेश गर्न पाउनेछन् । भित्र प्रवेश गरेको दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने पनि पोखरेले बताए ।

हरेक दिन दुई हजारदेखि तीन हजार दर्शकले चिडियाखाना अवलोकन गर्ने गरेको उनले जानकारी दिए । ई सेवामार्फत बुधबार बेलुकादेखि नै अनलाइन टिकट खुलाइने उनले बताए । चिडियाखाना प्रवेशका लागि १५० रुपैयाँको टिकट काट्नु पर्ने छ । विद्यार्थी र ज्येष्ठ नागरिकले भने ९० रुपैयाँमा नै टिकट पाउने छन् ।

यस्तै ४ देखि १२ वर्षसम्मका बालबालिकाको लागि भने टिकटको ५० रुपैयाँ लाग्ने छ । चिडियाखाना लामो समयदेखि बन्द हुँदा आर्थिक अभाव भएपछि चिडियाखानामा रहेका वन्यजन्तुलाई खाना खुवाउन ललितपुर महानगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग समेत गरेको थियो । चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ८० वन्यजन्तु रहेका छन् ।

प्रतिक्रिया