हिन्दुराष्ट्र स्थापना नभएसम्म धर्मयुद्ध नरोकिने रामराज्य परिषदको घोषणा

admin

काठमाडौं, २४ मंसिर : रामराज्य परिषदले मुलुकलाई संकटबाट जोगाउनका लागि धर्मयुद्ध अनिवार्य भएकाले हिन्दुराष्ट्र स्थापना नभएसम्म नरोकिने बताएका छन् । मंगलबार रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिषदले संविधानसभाले बनाएको संविधान मुलुकको हितमा नभएकाले अहिलेको राजनीतिक व्यवस्थालाई धर्मयुद्धमार्फत् परिवर्तन ल्याउने संकल्प गरिएको बताएको छ ।

परिषदले नयाँ संविधानले जातीय भेदभाव, भ्रष्टाचार, भागबण्डा, धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र जस्ता विकृति स्थापित गरेको आरोप लगाएको छ । पत्रकार सम्मेलनमा परिषदका अध्यक्ष जगतबहादुर थापाले आफूहरुको धर्मयुद्ध अहिलेको व्यवस्थाको अन्त नभएसम्म नरोकिने बताए ।

उनले देशको धर्म संस्कृतिमाथि प्रहार गरी अस्तित्व संकटमा पारिएकाले सबै एकजुट भई देशलाई बचाउनुपर्ने बताए । संघिय व्यवस्थाको विकल्प तत्काल खोज्नुपर्ने बेला आएको उनको भनाई थियो । सरकारले जनताको सेवा गर्न छोडेर शाषन गर्नतिर केन्द्रित भएको थापाको आरोप छ ।

अहिले मुलुक महाविपतको अवस्थामा रहेको भन्दै उनले यो व्यवस्था नै असफल भएको जिकिर गरे । नेपाललाई भञ्ष्टाचारमुक्त बनाउनका लागि अहिलेको व्यवस्था नै खारेज गर्नुपर्ने अध्यक्ष थापाको भनाई छ । त्यसैगरी, उपाध्यक्ष तिलकप्रसाद रिजालले दुइ तिहाई बहुमतको सरकार असफल भएको बताए ।

वर्तमान सरकारबाट कोही पनि सन्तुष्त नभएको भन्दै उनले मुलुकमा विदेशी दलालको सक्रियता बढेको बताए । व्यवस्था बदलिए पनि अवस्था नबदलिएका कारण अब चुप लागेर बस्न नहुने बताए । कार्यक्रममा समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले नेपालमा सनातन हिन्दुराष्ट्र स्थापना गर्नुपर्ने बताए ।

२०६२/६३ सालको आन्दोलनले ल्याएको परिवर्तन नै गलत भएको भन्दै निरौलाले अहिलेको संविधान पनि असंवैधानिक भएको जिकिर गरे । अब नेपालको माटो सुहाउँदो राज्यव्यवस्थाको आवश्यकता रहेको उनको भनाई छ ।

यस्तै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपालमा उपलब्धिको अपेक्षा नै गर्न नसकिने अवस्था आएकाले अब हिन्दुराष्ट्रको विकल्प नभएको बताए । प्रधानमन्त्री केपीओली पशुपतिनाथ जान छोडेर होली वाइनतिर ढल्केको आरोप लगाउँदै न्यौपानेले हिन्दु धर्ममाथि प्रहार गरिएको लगाए । अहिलेको व्यवस्था अन्त्यका लागि फागुन ७ गतेदेखि निर्णायक आन्दोलनमा जाने न्यौपानेले बताए ।

प्रतिक्रिया