राजसंस्था र हिन्दुराष्ट्रको मागसहित सनातन संस्कृति समाज नेपालको ७ बुँदे माग, मंसिर २५ गते माइतीघरमा प्रदर्शन गर्ने

admin

काठमाडौं, २४ मंसिर : सनातन संस्कृति समाज नेपालले देशलाई राजसंस्थासहितको हिन्दुराष्ट्र बनाउन अभियानलाई गति दिने बताउँदै सात बुँदे मागको घोषणा गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी समाजले सरकारलाई मागबारे ध्यानाकर्षण गराउन २५ मंसिर बिहिबार माइतीघर मण्डलमा प्रदर्शन गर्ने जनाएको हो ।

सात बुँदे मागपत्र सार्वजनिक गर्दै अध्यक्ष हरिबोल भट्टराईले हिन्दुराष्टको औचित्यमाथि प्रकाश पारे । बुधबार मागबारे ध्यानाकर्षण जनाउने कार्यक्रममा सहभागी हुन आव्हान समेत गरे । सर्व धर्म सभभाव सनातन संस्कृतिसहितको वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने भट्टराईको माग थियो ।

उनले वीर पुर्वजले आर्जन गरेको देवभुमी तपोभुमी अखण्ड नेपालको राष्टिय अखण्डताको रक्षा गर्नुपर्नेमा जोड दिए । उनले मुलुक र राष्ट्रको निर्माण संस्कृतिबाट भएको उल्लेख गर्दै संस्कृति जोगियो भने मात्रै राष्ट्र जोगिने तर्क गरे । उनले भने,‘विदेशीको पैसामा केही नेताले नेपालको संस्कृति बेचे ।’

त्यसैगरी समाजका उपाध्यक्ष विष्णु भट्टराईले ७४ प्रतिशत ओमकार परिवार बस्ने नेपालमा हिन्दुराष्ट्रको विकल्प नभएको बताए । संविधानमा हिन्दुराष्ट्र हटाएर संस्कृतिमाथि पाखण्डीपन देखाएको आरोप लगाए । अहिलेको व्यवस्था नेपाली जनताको हुनै नसक्ने भन्दै उपाध्यक्ष भट्टराईले क्रिष्चियनहरुको दबदबा फैलाएर सनातन धर्मको नष्ट गर्न खोजिएको जिकिर गरे ।

सहअध्यक्ष तारानाथ लुईटेलले नेपाललाई विदेशीको क्रिडास्थल बनाउन खोजिएको तर्क गरे । अब राजा, जनता र सेना मिलेर देश बचाउँनुपर्ने उनको भनाई छ । विदेशीको पैसा खाएर नेपाललाई धर्मनिरपेक्ष बनाइएको उनको आरोप छ ।

अब धर्मनिरपेक्ष खारेज गरेर राजासहितको हिन्दुराष्ट्र स्थापना गर्नुपर्ने उनले बताए । स्वतन्त्र नागरिक समाजका अध्यक्ष हेम विक्रम सिलवालले हिन्दुवादीको आन्दोलनमा सबै एकजुट हुनुपर्ने बताए । समृद्ध नेपालको लागि राजसंस्थाको आवश्यक रहेको सिलवालको भनाई थियो ।

प्रतिक्रिया