पुनः एकताको घोषणा भयो, साझा र विवेकशील पार्टी

admin

काठमाडौं, २४ मंसिर : साझा पार्टी र विवेकशील नेपाली दलबीच बुधबार औपचारिक रुपमा पुनः एकता घोषणा भएको छ । दुई वर्षअघि फुटेका दुबै दलबीच बुधबार पुनः एकता घोषणा भएको हो । आफूलाई वैकल्पिक शक्तिका रुपमा दाबी गर्दै आएका ‘साझा पार्टी र विवेकशील नेपाल’ दलबीच एकता घोषणापत्रमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले हस्ताक्षर गरेका छन् ।

एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ । पार्टीको पहिलो वरियतामा अध्यक्ष मिश्र र दोस्रो वरियतामा संयोजकमा पाण्डे रहने छन् । एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह साझा पार्टीले प्रयोग गर्दै आएको तराजु नै राख्ने सहमति भएको छ । नयाँ पार्टीको केन्द्रीय समितिमा दुबै पार्टीका ६५-६५ जना गरी १३० जना सदस्य रहने छन् ।

२०७४ साउन ११ गते पहिलोपल्ट साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको थियो । सोही वर्ष भएको आम निर्वाचनमा उनीहरुले विवेकशील–साझा पार्टीका नामबाट चुनाव लडेका थिए । तर २०७५ पुषमा रवीन्द्र मिश्र समूहले एक्लै पार्टी चलाउन खोजेको भन्दै अर्का संयोजक उज्ज्वल थापासहितको समूहले छुट्टै विवेकशील पार्टी दर्ता गरेपछि पार्टी फुटेको थियो ।

यसबीच विवेकशीलको नेतृत्वमा पाण्डे निर्वाचित भएपछि यी दुई दलबीच पुनः एकिकरणको प्रक्रिया सुरु भएको थियो । गत असारयता दुबै पार्टीले एकताका लागि कार्यदल गठन गरेका थिए । सोही कार्यदलले दिएको प्रतिवेदनका आधारमा अहिले पार्टीबीच एकता घोषणा भएको हो ।

कार्यदलले दुई संयोजक रहने गरि प्रतिवेदन दिए पनि त्यसको चर्को विरोधपश्चात एक अध्यक्ष र एक संयोजक रहने गरी पार्टी एक भएका हुन् । पुनः एकतामा जाने विषयमा भने विवेकशील पार्टीभित्र असहमति रहदै आएको थियो । सोही असमतिकाबीच विवेकशीलले बहुमतका आधारमा एकतामा जाने निर्णय गरेको हो ।

असमति राख्नेहरुमा विवेकशिलका पूर्व संयोजक उज्ज्वल थापा, प्रभावशाली नेता गोविन्द नारायण, उपाध्यक्ष अजिता राईलगायत थिए । उनीहरुले विवेकशीललाई नै अघि बढाउनुपर्ने माग राखेका थिए । तर बहुमतले साझासँग एकता गर्ने निर्णय गरेपछि उनीहरु एकता प्रक्रियामा सहभागी भएनन् ।

यता साझा पार्टीका तत्कालिन प्रवक्ता डा. सुर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनालले पनि विवेकशीलसँग एकता अघि बढाउने भएपछि साझाबाट राजीनामा दिएका छन् । उनीहरुले पार्टीका सबै संरचना भंग गर्दै पुनः शून्यबाट अघि बढ्नुपर्ने माग राखेका थिए । तर साझाका बहुमत सदस्यले भने अहिलेको संरचना कायम राख्दै पार्टी एकता गर्दै जानुपर्नेमा मत जाहेर गरेपछि असन्तुष्टि जनाउँदै उनीहरुले पार्टी छोडेका हुन् ।

प्रतिक्रिया