आजदेखि खुल्यो चिडियाखाना, स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी प्रवेश गर्न पाइने

admin

काठमाडौं, २५ मंसिर : कोरोनाभाइरस (कोभिड-१९) माहामारीको कारण चैत ७ गतेदेखि बन्द भएको जावलाखेलको सदर चिडियाखाना ८ महिनापछि बल्ल (बिहीबारदेखि) खुलेको छ । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरिने चिडियाखानाका प्रमुख डा. चिरञ्जीवीप्रसाद पोखरेलले जानकारी दिएका छन् । 

चिडियाखानामा प्रवेशका लागि स्वास्थ्यका मापदण्ड तयार पारिएको छ । चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्नेछ । प्रवेश क्षेत्रमा स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

भीडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश दिइनेछ । चिडियाखाना भित्र प्रवेश गरेको बढीमा डेढ घण्टाभित्र बाहिर निस्कनुपर्नेछ । जति जना बाहिर निस्कन्छन्, त्यतिका दरले अरुलाई भित्र प्रवेश गर्न दिइनेछ ।

यसैगरी चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन तथा छुन पाइने छैन । यस्तैभित्र बालबालिकालाई खेलाउन पाइने छैन । यसअघि झैँ हरेक दिन बिहान १० देखि बेलुका ५ बजेसम्म चिडियाखाना खुल्नेछ । भीडभाड हुन नदिन अनलाइन टिकटको व्यवस्था पनि गरिएको छ ।

चिडियाखानाको वेबसाइट वा ई सेवामार्फत् टिकट काट्न सकिने व्यवस्था मिलाइएको पोखरेलले बताए । अवलोकनका गर्न विदेशीका लागि ७५०, सार्क राष्ट्रका पाहुनाका लागि ५००, नेपालीलाई १५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

प्रतिक्रिया