कांग्रेसद्वारा २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन कार्यकर्तालाई आह्वान

admin

काठमाडौं, २५ मंसिर : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ । कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरूको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीको बारेमा छलफल गर्दै सबै नेता कार्यकर्तालाई सडकमा उत्रन आह्वान गरेको हो ।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले ७७ वटै जिल्लामा हुने प्रदर्शनको तयारीको बारेमा छलफल भएको बताए । उनले भने, ‘२९ गतेको लागि हामीले ७७ वटै जिल्लामा र्‍याली निकालेर अहिलेको सरकारको दमन नीतिलाई विरोध गर्ने बारेमा छलफल भएको हो । ७७ वटै जिल्लामा गर्ने हो । काठमाडौंमा, ललितपुरमा र भक्तपुरमा पनि गर्ने टुङ्गो लगायौँ । सल्लाह त्यही भएको छ ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड-१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मङ्सिर १७ गते तनहुँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गर्न लागिएको बताए ।

उनले भने, ‘कोरोनाको महामारी चलिरहेको छ र सरकारको ध्यान कोरोनाको महामारीतर्फ गम्भीर छैन । नागरिकको जीवन अस्पतालमा बेड नपाएर, भेन्टिलेटर नपाएर, सामग्रीहरू नपाएर छटपटिरहेको बेलामा सरकार र सत्तारुढ पार्टी आफ्नो सत्ताको द्वन्द्वमा केन्द्रित भएको छ । त्यसैले हामी २९ गते प्रदर्शन गर्दैछौँ । प्रदर्शन गर्दै गर्दा बिहीबारको बैठकले विशेष रूपमा देशभरि रहनुभएका पार्टी सदस्य, शुभचिन्तक सबैलाई सहभागी बन्नका लागि अपिल गरेको छ ।’

प्रवक्ता शर्माले यो सरकार बनेपछि बढिरहेको भ्रष्टाचारको विरुद्धमा समेत प्रदर्शन केन्द्रित हुने बताए । उनले भने, ‘यो सरकार बने पछाडि निरन्तर बढिरहेको भ्रष्टाचार, स्वास्थ्य सामग्रीको खरिदसम्ममा भएको भ्रष्टाचारदेखि लिएर भ्रष्टाचारका अनेकन प्रकरणहरूको विरुद्ध सडकमा २९ गते उत्रिनलाई बैठकले अपिल गरेको छ ।’

प्रवक्ता शर्माले सरकारले सर्वसत्तावादी चरित्र र अधिनायकवादी आकाङ्क्षा प्रस्ततु गरेको समेत बताए । यस्तै बैठकले मोरङ जिल्लामा शिक्षक ह’त्या भएको घटनामा संलग्नलाई कडा कारबाही गर्नसमेत माग गरेको प्रवक्ता शर्माले बताए । कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले सरकारको अधिनायकवादी प्रवृत्ति, भ्रष्टाचार र कोभिडको कुव्यवस्थापनबाट सिर्जित अप्ठेरो अवस्थाको विरुद्धमा प्रदर्शन भएको बताए ।

उनले भने, ‘हाम्रो २९ गते देशैभरि जिल्लामा विरोध कार्यक्रम हुन्छ । त्यो विरोध कार्यक्रम, सरकारको अधिनायकवादी प्रवृत्ति, भ्रष्टाचार र कोभिडको कुव्यवस्थापनबाट जुन अप्ठ्यारो स्थिति सिर्जना भएको छ, त्यसलाई केन्द्रित गरेर सरकारको विरुद्ध विरोध कार्यक्रम केन्द्रित हुन्छ । यो प्रारम्भ मात्रै हो ।’ २९ गतेको कार्यक्रमपछि पनि आन्दोलनलाई निरन्तरता दिने भन्ने कुरामा समेत छलफल भएको महतले बताए ।

प्रतिक्रिया