काठमाडौं : ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुस्ताका नेपाली नागरिकलाई तत्काल नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन आग्रह गरेको छ । मोर्चाले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सुस्तामा बासोबास गर्दै आएका र नागरिकता पाउन योग्य नेपालीलाई नागरिकता तत्काल दिन आग्रह गरेको हो ।
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा हस्तारित ज्ञापनपत्रमा नारायणी नदीमा २०११ र २०३४ सालमा आएका ठूला बाढीका कारण नदीले धार परिवर्तन गर्दा नदी पूर्वतर्फ परेको ४१,००० हेक्टरभन्दा बढी नेपालको जमिन तापुजस्तै बनेको र त्यो भूमिमा बसोबास गर्नु त्यहाँका बासिन्दाका निम्ति अहिलेसम्म कष्टप्रद रहँदै आएको भनिएको छ ।
नदीमा पुल नहुदाँ त्यहाँका नेपाली नागरिकले निकै कष्ट सहनु परेको भन्दै नेपाली भूमिको रक्षा गर्दै आएका सुस्ताबासीलाई नेपाली नागरिकता दिइनुपर्नेमा जोड दिइएको छ ।
२०६३ सालमा तराईमा घरदैलोमा पुगेर कुनै छानविन नगरी सबैलाई नागरिकताको प्रमाणपत्र वितरण गरेको स्मरण गर्दै ज्ञापनपत्रमा भनिएको छ, ‘त्यो बेला पनि सुस्ताबासीमाथि त्यो बेला पनि ठूलो विभेद भयो ।’
ज्ञापनपत्रमा मन्त्रिपरिषद्बाट विशेष प्रसताव पारित गरी सुस्तामै पुगेर त्यहाँका योग्य नेपालीलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउने ब्यवस्थासम्बन्धी निर्णय एक हप्ताभित्र भनिएको छ ।