आज आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित

admin

काठमाडौं, २६ मंसिर : शुक्रबार बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको छ । देशका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि प्रभावित भएको छ ।

बिहान सबेरैदेखि बाक्लो हुस्सुले भिजिबिलिटी (दृश्य क्षमता) कम भएका कारण अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान प्रभावित भएको विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णले जानकारी दिए ।

महाप्रबन्धक कर्णका अनुसार शुक्रबार बिहान चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको जहाज मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बिहान करिब ६ः३० बजे जहाज अवतरण गरे पनि लगत्तै बाक्लो हुस्सु लागेपछि विमानस्थलमा कुनै पनि जहाजको उडान अवतरण भएको छैन ।

हुस्सु खुलेपछि अर्थात बिहान १० बजेपछि मात्र उडान सामान्य हुने निमित्त महाप्रबन्धक कर्णले बताएका हुन् । ‘बिहान एक मात्र अन्तर्राष्ट्रिय उडानको जहाज अवतरण भयो । अहिले बाक्लो हुस्सुले भिजिबिलिटी १०० मिटर मात्रै छ, बिहान १० बजेपछि मात्र उडान सामान्य हुनेजस्तो देखिन्छु, उनले भने । अन्तर्राष्ट्रिय उडानका जहाजलाई अवतरण गर्न एक हजार ५०० मिटर भिजिबिलिटी चाहिन्छ ।’

त्यस्तै आन्तरिक उडानका जहाजको प्रकृति अनुरुप फरक-फरक भिजिबिलिटी हुनुपर्छ । आइएफआर जहाजलाई उडानका लागि डेढ किलोमिटर भिजिबिलिटी चाहिन्छ । ती जहाजलाई अवतरणका लागि तीन किलोमिटर भिजिबिलिटी चाहिन्छ ।

प्रतिक्रिया