कोरोना खोप परीक्षणमा समस्या देखिएसँगै रद्द, अस्ट्रेलियामा पुनः तीन महिना यात्रा प्रतिबन्ध

admin

एजेन्सी, २६ मंसिर : अस्ट्रेलियाले युनिभर्सिटी अफ क्विन्सल्याण्ड र सीएसएल लिमिटेडले संयुक्तरुपमा विकास गरिरहेको खोपको अर्डर रद्द गरेको छ । अस्ट्रेलियाले उनीहरुले विकास गरिरहेको खोपका लागि पाँच करोड १० लाख डोजको अर्डर गरेको थियो ।

खोपको परीक्षणको क्रममा देखिएको समस्याको कारण अस्ट्रेलियाले आफ्नो अर्डर रद्द गर्ने निर्णय गरेको हो । शुक्रबार अस्ट्रेलियाले यो खरिद सम्झौता रद्द गर्दै यसको सट्टामा अन्य खोप खरिद गरिने बताएको हो । अस्ट्रेलियाले अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले विकास गरेको खोप थप २ करोड डोजको लागि अर्डर दिइसकेको छ ।

साथै नोभाभ्याक्सले निर्माण गरेको खोपका लागि एक करोड १० लाख डोज अर्डर दिइएको छ ।सीएसएलका अनुसार कारोना खोप परीक्षणमा खोप लिएका केही मानिसमा संक्रमण नभए पनि एचआईभी पोजेटिभ देखिएको थियो । खोपका केही कम्पोनेन्टहरु एचआईभी भाइरसबाट बनेका हुन्छन् ।

त्यसैले खोप लिएका मानिसमा एचआईभी पोजेटिभ पाइएको हो । तर उनीहरुमा संक्रमणको कुनै जोखिम नरहेको कम्पनीको भनाइ छ । खोपको परीक्षण हुनुभन्दा अगाडि नै यस्तो हुने आकलन गरिएको र स्वयंसेवकहरुलाई पनि यस विषयमा चेतावनी दिइएको सीएसएलले बताएको छ ।

अस्ट्रेलियामा थप तीन महिना यात्रा प्रतिबन्ध
अस्ट्रेलियाले विदेश यात्रा प्रतिबन्ध पुनः तीन महिना थप गरेको छ । सरकारले विदेश यात्राको प्रतिबन्ध सन् २०२१ को मार्च १७ तारिखसम्म कायम रहने बताएको छ । अस्ट्रेलियाली सरकारले कोरोना भाइरस सुरु भएलगत्तै गत मार्च १८ देखि आफ्ना नागरिक तथा स्थायी बासिन्दालाई विदेश यात्रामा प्रतिबन्ध लगाउँदै आएको छ ।

जसका कारण अस्ट्रेलियाली नागरिक बाहिर जान तथा अन्तर्राष्ट्रिय यात्रुहरू अस्ट्रेलिया भित्रन पाएका छैनन् । सरकारले स्वास्थ्यविज्ञ सम्मिलित संस्था अस्ट्रेलियन हेल्थ प्रोटेक्सन प्रिन्सिपल कमिटीको सुझावमा उक्त निर्णय लिएको बताइएको छ । अस्ट्रेलियाले मानव जैविक आपत्कालीन अवस्थाको अधिकारको प्रयोग गर्दै अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

उक्त अवस्था आउँदो साता समाप्त हुने भए पनि अस्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले यो आउने वर्षको मध्य मार्चसम्म निरन्तर रहने बताएका हुन् । सरकारले उक्त अधिकारको प्रयोग गरी अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाउन सक्ने प्रावधान रहेको छ । सरकारको यो निर्णयसँगै समुद्रमा चल्ने अन्तर्राष्ट्रिय र स्थानीय पानीजहाजको सञ्चालनमा समेत प्रतिबन्ध लागेको छ भने अन्तर्राष्ट्रिय विमानस्थलमा चल्ने पसलहरूसमेत बन्द रहनेछन् ।

अस्ट्रेलियाको यस निर्णयसँगै अस्ट्रेलिया अध्ययनका लागि आउन चाहने लाखौं विदेशी विद्यार्थी आफ्नै देशमा अलपत्र परेका छन् । शैक्षिक परामर्शको क्षेत्रमा काम गरिरहेका व्यवसायीका अनुसार अहिले पनि हजारौं नेपाली विद्यार्थी र अन्य अस्थायी भिसामा रहेका नेपाली नेपालमै अड्किएर बसेका छन् ।

यस वर्षको अन्त्यसम्ममा अस्ट्रेलिया आउने आशामा बसेका उनीहरूले कम्तीमा पनि ३ महिना पर्खनुपर्ने भएको छ । अस्ट्रेलियाबाट विदेश यात्रा गर्नैपरे वा अस्ट्रेलिया आउनुपरे सरकारले विशेष पासको व्यवस्था गरेको छ जसअनुसार थोरै मात्रा अस्थायी भिसावाहकले अस्ट्रेलिया प्रवेशको अनुमति पाएका छन् भने यही अवधिमा जम्मा ९५ हजार अस्ट्रेलियालीलाई विदेश यात्राको अनुमति दिइएको छ ।

प्रतिक्रिया