नेकपा स्थायी कमिटी बैठक आइतबार बस्दै, ओली उपस्थित हुने/नहुने अझै लागेन टुंगो

admin

काठमाडौं, मंसिर २७ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आइतबार (भोलि) बस्दैछ । अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा यही मंसिर २१ गते नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको स्थायी कमिटी बैठकले ‘पार्टीको आन्तरिक समस्या’ एउटै एजेन्डाका रुपमा तय गरेपछि आइतबार स्थायी कमिटीको दोस्रो बैठक बस्न लागेको हो ।

तर, बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने/नहुने अझै टुंगो लागेको छैन । प्रधानमन्त्री ओलीले पार्टीमा आफूविरुद्ध प्रस्तावका नाममा अभियोगपत्र वितरण गरिएको जिकिर गर्दै त्यसको छलफल हुन नसक्ने भएकाले स्थायी कमिटीले विवेकपूर्ण निकास दिने सन्देशसहितको पत्र स्थायी कमिटीको बैठकलाई पठाउनुभएको थियो ।

कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ‘अभियोगपत्र’ र ‘प्रत्युत्तरपत्र’मा छलफल चलाउने अडान लिएपछि प्रधानमन्त्री ओलीको उपस्थिति अन्योलमा परेको हो । गएको कात्तिक २८ गते प्रधानमन्त्री ओलीलाई विभिन्न आरोप लगाउँदै कार्यकारी अध्यक्ष दाहालले ‘राजनीतिक प्रस्ताव’को नाममा ‘अभियोगपत्र’ दर्ता गराउनुभएको थियो । जसको जवाफका रुपमा ओलीले मंसिर १३ गते ‘प्रत्युत्तरपत्र’ खाममा हालेर सचिवालयलाई सदस्यलाई दिनुभयो ।

उक्त दुवै पत्रलाई स्थायी कमिटीको प्रस्ताव, एजेन्डा र कार्यसूची बनाउनुपर्ने दाहाल–नेपाल समूहले प्रस्ताव गरिरहेपनि ओलीले अस्वीकार गर्दै आउनुभएको छ । आइतबार बस्ने नेकपा स्थायी कमिटीको बैठकमा पार्टीभित्रको अन्तरविरोध र संकटको समाधानबारे छलफल हुने भनिएपनि निकासका लागि अनौपचारिक गृहकार्य पर्याप्त भएका छैनन् ।

सहमति जुटाउन आठ दिनका लागि समय दिइएपनि नेताहरुबीच पर्याप्त संवाद हुन नसकेको हो । स्थायी कमिटीको बैठक लम्बिएका कारण पूर्वनिर्धारित केन्द्रीय कमिटीको बैठक आउँदो पुस ५ गतेका लागि सारिएको छ ।

प्रतिक्रिया