कुवेत कारागारमा रहेका र तलब नपाएका श्रमिकको उद्धार गरी नेपाल पठाइयो

admin

काठमाडौं, २८ मंसिर : गैर आवासीय नेपाली संगठन एनआरएनएले विदेशमा विभिन्न समस्यामा परेका नेपाली श्रमिकलाई उद्धार गरेर नेपाल पठाएको छ । कुवेतमा एक वर्षदेखि ग्रीन हर्बो कफी सपमा काम गर्दै आएका काभ्रेका सुरेश लामा र दावा लामालाई उद्धार गरी शुक्रबार नेपाल पठाएको हो ।

दुवैजनाले ११ महिनादेखि कम्पनीबाट तलब पाएका थिएनन् । यस्तै ६ महिनादेखि कुवेतको कारागारमा रहेकी मधु केसीको पनि उद्धार गरेर त्यही उडानमार्फत नेपाल पठाएको एनआरएनएले जनाएको छ । उनी घरेलु कामदारको रुपमा कुवेत पुगेकी थिइन् ।

रोजगारदाताबाट भनेजति सेवा सुविधा नपाएपछि उनी भागेर अवैधानिक भएर बसिन् । कुवेत सरकारले प्रदान गरेको आममाफी प्रयोग गरी नेपाल फर्किन खोज्दा रोजगारदाताले विभिन्न आरोप लगाएर जेल पठाएको अवस्थामा उनको उद्धार गरिएको हो ।

एनआरएनएले नै सबैको नेपाल सम्मको हवाई टिकट, पीसीआर परीक्षण र काठमाडौंदेखि घरसम्मको खर्चको व्यवस्था गरेको हो । गैर आवासीय नेपाली संघ कुवेतले केन्द्रको समन्वय र सहकार्यमा गएको हप्ता मात्रै यस्ता चार जनाको उद्धार गरेर नेपाल पठाएको एनआरएनएले जनाएको छ ।

प्रतिक्रिया