माछा मार्ने विषयमा झडप हुँदा एक महिलाको ज्यान गयो, चार जना घाइते

admin

सप्तरी, २९ मंसिर : माछा मार्ने विषयमा झडप हुँदा एक महिलाको ज्यान गएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । सप्तरीको बोदे बरसाईन नगरपालिका ३ कुशमाहारमा दुई पक्षबीच झडप हुँदा एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

छपकी पोखरीमा माछा मार्ने विषयमा आइतबार राति भएको झडपमा स्थानीय ४० वर्षीया गंगीया देवी मण्डलको ज्यान गएको हो । झडपका क्रममा टाउकोमा बञ्चरो लागेर मण्डलको घटनास्थलमै ढलेर ज्यान गएको स्थानीयले बताएका छन् ।

यस्तै झडपमा संलग्न त्यही ठाउँका ४५ वर्षीय विजय मण्डल, २५ वर्षीय सुरेन्द्र मण्डल, २० वर्षीय रवित मण्डल र ५० वर्षीय छोटु मण्डललाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको सप्तरी प्रहरीको भनाइ छ ।

यसैगरी उक्त झडपमा १८ वर्षीय धिरज मण्डल, ४५ वर्षीय जयनारायण मण्डल र ४० वर्षीय सुरेन्द्र मण्डलको टाउकोमा गम्भीर चोट लागेको छ भने ४५ जोगिन्द्र मण्डल घाइते भएका छन् । गम्भीर चोट लागेका तीनै जनालाई उपचारको लागि विराटनगरको न्युरो शिक्षण अस्पताल पठाइएको छ भने जोगिन्द्रको बोदे बरसाईनको क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया