काठमाडौं, २९ मंसिर : नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठकी सहयोगी सुसन कर्मचार्यका श्रीमान् लक्ष्मणकृष्ण राजभण्डारीले कमानसिंह लामा र याम्बालिङ हाइड्रोपावर परियोजनाको विवादमा श्रेष्ठलाई अनावश्यकरुपमा मुछिएको बताएका छन् ।
उनले समाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै यस विषयमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर जानकारी गराएको उल्लेख गरेका छन् । उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै प्रमाण विना सत्य तथ्य नबुझी जनतालाई भ्रम पैदा गर्ने, अरुको चरित्र ह’त्या गर्न खोज्ने कार्य कसैले नगर्न र त्यस्तो भ्रममा नपर्न विनम्र अनुरोध गर्दछौँ ।’
उनले आफ्नो र श्रीमतीसमेत परिवारको चरित्र ह’त्या गर्दै सामाजिक प्रतिष्ठामा समेत आँच पुर्याउने गरी सामाजिक सञ्जाल र अनलाइन मिडियामा भ्रामक समाचार सम्प्रेषण भएकोमा आपत्ति समेत जनाएका छन् ।
उनको पोष्ट यस्तो छ –
मेरो श्रीमती सुसन कर्माचार्य अध्यक्ष रहेको र धेरै साथीइहरुको सहकार्यमा सञ्चालित याम्बालिङ हाइड्रोपावर प्रोजेक्ट र दिवंगत श्री कमानसिंह लामाको विचमा रहेको विवादमा ने.क.पा. का प्रवक्ता श्री नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछेर र मेरो श्रीमती समेत हाम्रो परिवारको चरित्र ह’त्या गर्दै सामाजिक प्रतिष्ठामा समेत आँच पुर्याउने गरी भ्रामक रुपमा केही अनलाइन सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरिएको सन्दर्भमा हिजो २०७७ मंसिर २८ गते दिनको २ बजे बाट ३:४५ सम्म, म, मेरो श्रीमती(सुसन) र छोरी स-परिवार सम्माननीय प्रधानमन्त्री श्री के. पि. शर्मा ओलीज्यूलाई भेटेर सबै यथार्थ राख्यौँ।
प्रधानमन्त्री ज्यूले १ घण्टा ३० मिनेट समय दिनुभयो र हाम्रो सबै कुरा ध्यानपूर्वक सुन्नुभयो। उहाँले श्री कमानसिंह लामले यस वारेमा आफूसँग पनि कुरा गरेको तर यो आपसी बिषय भएकोले मिलेर सल्टाउन र क.प्रचण्डले केही सहयोग गर्न सक्नुहुन्छ भने त्यता कुरा गर्न सुझाव दिनुभएको पनि जानकारी दिनुभयो।
साथै उहाँले नेपालमा यस्ता नामै नसुनेका अन्लाईनहरुले जे पनि लेख्छ यसको पछी लाग्नु हुँदैन, गल्लिमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दले विना टेन्सन हिडिरहनुपर्छ भनेर सम्झाउनु भयो। देशमा राष्ट्रपती जस्तो सम्माननीय ब्यक्तिलाई पनि नानाथरिको लाञ्छना लगाइन्छ, त्यसैले यसको पछाडि लाग्नु हुन्न भनेर सम्झाउनुभयो।
हाम्रो परिवार सम्माननीय प्रधानमन्त्रीज्यूलाई समय र साथको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। कुनै प्रमाण विना सत्य तथ्य नबुझी जनतालाई भ्रम पैदा गर्ने, अरुको चरित्र हत्या गर्न खोज्ने कार्य कसैले नगर्न र त्यस्तो भ्रममा नपर्न विनम्र अनुरोध गर्दछौँ।