यस वर्ष २२१ बीओपी स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौँ : गृहमन्त्री थापा

राष्ट्रिय समाचार समिति

चितवन, २९ मंसिर : गृहमन्त्री रामबहादुर थापाले चालु आर्थिक वर्षमा दुई सय २१ बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्ने लक्ष्यका साथ मन्त्रालय अघि बढिरहेको र यस वर्ष ८७ नयाँ बिओपी स्थापना भइसकेको बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गणीमाई बाहिनीको सोमबार भण्डारामा उद्घाटन गर्दै उनले प्रहरी बल नेपाललाई प्राप्त सीमा सुरक्षाको कार्यादेशलाई थप प्रभावकारी रूपमा सम्पादन गर्न यसले सहयोग पुर्‍याउने बताए ।

उनले भने, ‘सबै निकायबीचको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै शान्ति, सुरक्षा र अमन-चयन कायम गर्ने कुरा सम्भव हुन्छ ।’ उनले अन्य सुरक्षा निकायसँग समेत आवश्यक समन्वय गर्दै अघि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिए । सीमा सुरक्षासम्बन्धी कानुन तर्जुमा गर्ने र सशस्त्र प्रहरी बल ऐनमा समेत त्यो व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् ।

सशस्त्र प्रहरीलाई समयानुकूल जनशक्ति थप गर्दै आधुनिकीकरण र प्रविधिमैत्री बनाउन एवं सङ्गठनको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै लैजान सरकार प्रतिबद्ध रहेको उनले बताए । गृहमन्त्रीले भने, ‘सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूले आफ्नो पेसागत ज्ञान, दक्षता र क्षमता अभिवृद्धि गरी समयानुकूल कार्यसम्पादन गर्न सकेमा राष्ट्र र सङ्गठनको लक्ष्य प्राप्तिमा थप टेवा पुग्नेछ ।’

भारत र चीन दुवै देशसँग सीमाना जोडिएको वाग्मती प्रदेशको अलग र विशेष महत्त्व रहेको र सुरक्षाको दृष्टिले समेत उच्च संवेदनशील रहेको बताउँदै उनले राष्ट्रको आन्तरिक सुरक्षालाई बलियो पार्न अझै उच्चस्तरको ज्ञान, सीप र व्यावसायिक दक्षता प्रदर्शन गरी परिचालित हुन निर्देशन दिए ।

त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले सीमा सुरक्षालाई बलियो बनाउँदै अघि बढ्ने बताए । उनका अनुसार देशका सिमानामा पाँच सय वटा बीओपी पुर्‍याइने छ । बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मन्दीप श्रेष्ठले बाहिनीका बारेमा जानकारी गराएका थिए ।

यस बाहिनी विसं २०७५ भदौ ६ गते स्थापना भएको हो । यसले काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक वाग्मती प्रदेशका १० जिल्ला हेर्दै आएको छ ।

प्रतिक्रिया