तराईमा दिनभर हुस्सु लाग्ने, काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्यो

admin

काठमाडौं, ३० मंसिर : काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । सोमबार काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस थियो । तत्काल मौसम बद्ली भएर बादल लाग्ने सम्भावना नरहेकाले न्यूनतम तापक्रम घट्न सक्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् गंगा नगरकोटीका अनुसार मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको हो । राति आकाश छ्याङ्ग खुलेकाले चिसो बढेको उनले बताइन् । मंगलबार काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसम्म पुग्ने अनुमान छ ।

बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने हुँदा दिउँसोको समयमा भने तातो न्यानो हुनेछ । मंगलबार काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रको मौसम सफा रहने अनुमान गरिएको छ । पहाडी क्षेत्रको मौसम मंगलबार सफा रहे पनि तराईका क्षेत्रमा भने हुस्सु/कुहिरो लागेको मौसमविद् नगरकोटीले बताइन् ।

उनका अनुसार मंगलबार प्रदेश १ र २ मा मंगलबार दिनभरि नै हुस्सु/कुहिरो लाग्ने सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने दिउँसो पनि हुस्सु हट्ने अनुमान छ । बिहानदेखि दिनभरिसम्म हुस्सु लाग्ने भएकाले चिसोबाट जोगिन मौसमविद्को सुझाव छ ।

प्रतिक्रिया