काठमाडौं, ३० मंसिर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो जागरण नेपाली कांग्रेसको मात्र नभएर नेपाली जनताको जागरण भएको बताएका छन् । सोमबार गरिएको विरोध प्रदर्शनमा बोल्दै नेता पौडेलले पछिल्लो समय देशमा असुरक्षा भष्ट्राचार जस्ता अमानवीय घटनाहरु बढेको र, पुल निर्माण गर्दा सरकारले करङ भाँच्ने काम पनि गरेको बताएका हुन् ।
‘वर्तमान सरकारले सबै सत्ता आफ्नो हातमा लिएर आफ्नो हात जगन्नाथ गर्ने काम गरिरहेको छ । राज्यको ढुकुटी लुटेर आफ्नो कार्यकता पोस्ने काम भयो । सरकारकै कारण सडकमा जथाभावी नारा लागेको छ, उनले भने । साथै उनले ‘राजा आउ देश बचाउ’ भन्नेहरुलाई तिमीहरुले कुन राजा ल्याउन खोजेको हो भन्दै प्रश्न समेत गरेका छन् ।
नेता पौडेलले सरकारले जनताको अधिकार माथि प्रहार गरेको भन्दै पछिल्लो समय ३ शक्ति खुबै सलबलाएको बताए । ति शक्तिहरुका कारण लोकतन्त्रलाई नै धरापमा पारेको पनि उनको निष्कर्ष छ । नेकपा नेतृत्वको सरकारले प्रदेश प्रमुखमा समेत नेकपाका कार्यकता भर्ति गरेको बताए ।
उनले समाजलाई समेत आफ्नो नियन्त्रण लिन खोजेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यलाई नै कमाउनिष्टिकरण गरेको आरोप लगाए । साथै उनले सोमबारको विरोध पार्टी वा सरकार वा व्यक्तिको नभई प्रवृतिको प्रतिकारका लागि भएको पनि प्रष्ट पारे ।
‘हामी लोकतान्त्रिक प्रकृया भन्दा बाहिर जान चाहदैनौँ, उनले भने । तर सरकारले आफ्नो इशारामा प्रहरी प्रशासन तथा स्थानीय तहलाईसम्म नियन्त्रणमा लिएको उनले बताए । ‘सत्ता र शक्तिले मान्छेलाई भ्रष्ट बनाउछ, अहिलेको सरकारलाई त्यस्तै भएको छ । लोकतन्त्रमा मेरो वा तेरो हुदैन, उनले भने ।’
यो सरकार नालायक भ्रष्टाचारी रहेको भन्दै उनले वर्तमान सरकारमा जब आफ्ना नेताको भ्रष्टाचारको कुरा आउछ तब प्रधानमन्त्री स्वयम जोगाउन लाग्ने प्रवृत्ति हाबी भएको बताए । यसैगरी उनले जनताको हितको लागि गठन गरिएको आयोग आफ्नो इसारामा चलाएको बताए ।
अख्तियार जस्तो अनुसान्धान र भष्ट्राचारीलाई कानूनको कठघरामा ल्याउने संवैधानिक अंगलाई समेत सरकारले आफ्नो इसारामा चलाएको आरोप लगाउँदै उनले वर्तमान सरकारले जन अधिकारलाई कुन्ठित बनाएर राखेको धारणा पनि व्यक्त गरे ।