काठमाडौं, ३० मंसिर : संवैधानिक परिषद्को बैठक बेलुका पाँच बजे बस्ने भएको छ । प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष केपी शर्मा ओलीले बेलुका ५ बजे बस्ने गरी बैठक स्थगित गरेको उनका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।
बिहान प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि गणपूरक संख्या पुगेन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै छलफल नै नगरि बैठक बोलाएको भन्दै सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए । संवैधानिक निकायमा पदपूर्ति गर्नुपर्ने जस्तो विषयमा छलफल गर्न कुनै तयारी नगरि बैठक बोलाएकाले सभामुख सापकोटा अनुपस्थित भएको न्यौपानेले बताए ।
बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने उपस्थित भएका थिए । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा उपसभामुख रहने व्यवस्था छ ।
उपसभामुख नरहेको र सभामुख सापकोटा बैठकमा नगएपछि गणपूरक संख्या पुग्न नसकेको हो । तयारी नपुगेर अनुपस्थित भएको बताइए पनि नेकपाभित्रको विवादका कारण सभामुख सापकोटा बैठकमा नगएको आशंका गरिएको छ ।
यसअघि आइतबारका लागि बोलाइएको बैठकमा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित हुनेपछि स्थगित भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत संवैधानिक निकायमा विभिन्न पद खाली छ । यी पदपूर्तिका लागि भन्दै बैठक बोलाइएको थियो ।