कोरोना भाइरसको ‘नयाँ प्रकार’ पहिचान

admin

एजेन्सी, ३० मंसिर : बेलायतको केही भागमा कोरोना भाइरसको एक नयाँ प्रकार पाइएको छ, जो तीव्र गतिमा फैलिरहेको छ । बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले कम्तीमा ६० अलग-अलग स्थानीय प्रशासनले यस नयाँ प्रकारको कोभिड संक्रमण भेटिएको जानकारी दिएको बताएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले यसलाई जानकारी लिएको र बेलायती वैज्ञानिकले यसबारेमा विस्तृत अध्ययन गरिरहेको उनले बताएका छन् । यो नयाँ प्रकारको संक्रमण अझ फैलिन सक्ने र खोपले पनि यसलाई काम नगर्ने हुन सक्ने मन्त्रीको भनाइ छ । उनले पछिल्लो हप्ता लण्डन, केन्ट एसेक्स र हर्टफोर्डशायरका क्षेत्रमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेकोबारे सदनलाई जानकारी दिएका छन् ।

‘अहिले हामीले भाइरसको यो नयाँ प्रकारको एक हजारभन्दा धेरै मामिला (केस) प्राप्त गरेका छौँ र विशेषगरी बेलायतको दक्षिणी भागबाट धेरै केस प्राप्त भएको छ । यो मामिला ६० अलग-अलग क्षेत्रमा पाइएको छ’, उनले भने । यो सम्भावित खतरालाई ध्यानमा राख्दै बेलायतमा अहिलेसम्मकै सबैभन्दा कडा लकडाउन लगाउने घोषणा गरिएको छ । लण्डन, एसेक्स र हर्टफोर्डशायरको केही भागमा बुधबारदेखि नयाँ नियम लागू हुनेछ ।

यस अवधिमा रेस्टुरेन्ट बन्द रहनेछ, मात्र टेकअवे र डेलिभरी चल्नेछ । यसका साथै थिएटर, सिनेमा हललगायतका क्षेत्र पनि बन्द रहनेछ । भाइरसमा आएको परिवर्तन त्यसमा रहेको स्पाइक प्रोटिनसँग जोडिएको हुन्छ । यो भाइरसको त्यो हिस्सा हो, जसले कोषिकालाई संक्रमित गर्न मद्दत गर्छ र कोरोना भाइरसको खोप यसैलाई मध्यनजर गर्दै तयार गरिएको छ ।

बर्मिङघम विश्वविद्यालयमा विशेषज्ञ फ्रोफेसर एलन म्याकनलीले बीबीसीसँग भने, ‘हामीलाई धेरै चिन्तित हुनुपर्ने आवश्यक छैन । यसको मतलब यो निकै संक्रामक या खतरनाक छैन भन्ने होइन, हामीले यसमाथि ध्यान राख्नुपर्छ ।’ भाइरसको यो नयाँ प्रकारलाई बुझ्न ठूलो स्तरमा कोसिस भइरहेको उनले बताए ।

प्रतिक्रिया