काठमाडौं, ३० मंसिर : संवैधानिक परिषदबारे सरकारको अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छिन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी (पहिला संशोधन) अध्यादेश २०७७ जारी गरेकी हुन् ।
मंगलबार बिहान बोलाइएको परिषद् बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक बेलुकी ५ बजेका लागि सारिएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा उपसभामुख रहने व्यवस्था रहेको छ ।
संवैधानिक निकायमा पदपूर्ति गर्नुपर्ने जस्तो विषयमा छलफल गर्न कुनै तयारी नगरि बैठक बोलाइएकोले आफू बिहानको छलफलमा सहभागी नभएको सभामुख सापकोटाले बताएका छन् ।
उपसभामुख नरहेको र सभामुख सापकोटा बैठकमा नगएपछि गणपूरक संख्या पुग्न नसकेको हो । तयारी नपुगेर अनुपस्थित भएको बताइए पनि नेकपाभित्रको विवादका कारण सभामुख सापकोटा बैठकमा नगएको आशंका गरिएको छ ।
यसअघि आइतबारका लागि बोलाइएको बैठकमा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित हुनेपछि स्थगित भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत संवैधानिक निकायमा विभिन्न पद खाली छ । यी पदपूर्तिका लागि भन्दै बैठक बोलाइएको थियो ।