चितवन, मंसिर ३० : गौतमबुद्ध कप क्रिकेट प्रतियोगिताको उपाधि राप्ती टिमले जितेको छ । मंगलबार चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको फाइनलमा नारायणी टिमलाई ९ रनले पराजित गर्दै राप्तीले उपाधि जितेको हो ।
खेलमा १४४ रनको चुनौती पछ्याएको नारायणीले निर्धारित् २० ओभरमा ९ विकेट गुमाएर १३४ रनमात्र बनाउन सक्यो । आरिफ शेखले ३१ बलमा ४८ रन बनाए । रित गौतम र इशान पाण्डेले समान २७ रन जोडे । राप्तीका अविनाश बोहराले ३ तथा भुवन कार्कीले २ विकेट लिए ।
यसअघि, खेलमा पहिले ब्याटिङ गरेको राप्तीले २० ओभरमा ८ विकेटको क्षतिमा १४३ रन बनाएको थियो । कुशल भुर्तेलले ४२, कप्तान विनोद भण्डारीले ३२ तथा अमित श्रेष्ठले १७ रन बनाए ।नारायणीका शाहाब आलमले ३ तथा सुशन भारीले २ विकेट लिए ।
तीन टिम सहभागी प्रतियोगिता वाग्मती प्रदेश क्रिकेट संघले आयोजना गरेको थियो । वाग्मती टिम भने लगातार दुई हारसँगै फाइनल पुग्न असफल भएको थियो ।