काठमाडौं उपत्यकाको तापक्रम २ डिग्रीमा झर्‍यो

admin

काठमाडौं, १ पुस : काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।

यसअघि मंगलबार काठमाडौं उपत्यकाको तापक्रम तीन डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । काठमाडौं उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ ।

यसअघि सोमबार भने काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव शून्य डिग्री मापन भएको थियो । मौसमविद् समीर श्रेष्ठका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । ‘अबको केही दिन तापक्रम घटबढ भइ रहनेछ’, श्रेष्ठले भने, ‘मौसमविद्का अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ ।’

पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरोले जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री र अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस रहेको छ । त्यस्तै बुधबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७ दशमलव १ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया