आज पनि माइतीघर मण्डलामा प्रदर्शन : उखु किसान

admin

काठमाडौं, १ पुस : उखुको भुक्तानी पाउनुपर्ने माग गर्दै आन्दोलनरत उखु किसानले बुधबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । गएको शनिबार सर्लाहीबाट काठमाडौं आएका किसानहरूले आइतबारदेखि आन्दोलन सुरु गरेका हुन् ।

सरकारले चिनी मिलबाट भुक्तानी नदिलाइ दिएसम्म प्रदर्शनलाई निरन्तरता दिने पनि किसानहरूले बताएका छन् । मन्त्रालयले गएको वर्ष पुस १८ गते त्यही वर्षको माघ ७ गतेभित्र भुक्तानी दिने गरी किसान र उद्योगीबीच सम्झौता गराएको थियो । तर पनि उद्योगीहरूले एक वर्षसम्म पैसा नदिएपछि काठमाण्डौ आएर फेरि आन्दोलन गर्न बाध्य भएको किसानहरूले बताएका छन् ।

बुधबार उखु किसानहरू हातमा उखु लिएर माइतीघर मण्डलामा उभिएका थिए । सरकारले उखुको भुक्तानी दिलाउने जिम्मेवारी लिएर पनि दिलाउन नसकेको भन्दै किसानहरूले यसपटक निर्णायक आन्दोलन गर्ने बताएका छन् ।

उता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानहरूलाई वार्ताका लागि मन्त्रालय बोलाएको छ । तर किसानहरू भने सरकार र उद्योगीहरूबीच मिलेमतो भएको भन्दै वार्ताका लागि मन्त्रालय गएका छैनन् । उखु किसानहरूले उद्योगीहरूबाट झण्डै ९० करोड रुपैयाँ उठाउन बाँकी रहेको बताएका छन् ।

प्रतिक्रिया