दुई अध्यक्षको छलफलपछि नेकपा स्थायी कमिटी बैठक सुरु

admin

काठमाडौं, १ पुस : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेपछि सुरु भएको हो । मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नु भएसँगै नेकपाभित्रको विवाद झन् बढेको छ ।

स्थायी कमिटी बैठक बस्नुअघि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । दुई अध्यक्षबीच दोस्रो पटक छलफल भएपछि प्रधानमन्त्री ओली बैठक बस्न सहमत भएको र ४ बजेपछि बैठक बसेको नेकपा स्रोतले जनाएको छ ।

एक बजेका लागि तय भएको बैठक रोकेर केही नेताहरूले दुई अध्यक्षलाई मिलाउने प्रयास गरेका थिए । दुई अध्यक्षबीचको वार्तामा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, शङ्कर पोखरेल र घनश्याम भुसाल पनि सहभागी भएका थिए । गएको २१ र २८ गतेको स्थायी कमिटी बैठककै निरन्तरता स्वरूप बुधबारको बैठक सुरु भएको हो ।

यसअघिको बैठकमा अध्यक्ष दाहालले पेस गरेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय भएको भए पनि ओलीले अस्वीकार गरेपछि बैठक प्रभावित हुँदै आएको थियो । यसैबीच बुधबार दाहाल-माधव नेपाल समूहका केही नेता ८० जना सांसदको हस्ताक्षर बोकेर शितल निवास पुगेका थिए ।

संसद्को विशेष अधिवेशन माग गर्दै नेता भीम रावल, पम्फा भुसाललगायत नेताहरू राष्ट्रपति कार्यालय शितल निवास पुगेका हुन् । तर शितल निवासले भने त्यसलाई दर्ता गर्न नमानेको बताइएको छ । राष्ट्रपतिको कार्यालय शितल निवासले जनाएको छ ।

प्रतिक्रिया