सवारीमा जोर-बिजोर प्रणाली भोलिदेखि हट्ने

admin

काठमाडौं, २ पुस : लामो समयको लकडाउन र निषेधाज्ञापछि काठमाडौं उपत्यकामा लागू भएको जोर-बिजोर प्रणाली शुक्रबारदेखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरूको छलफलले शुक्रबारदेखि जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

यातायात व्यवसायी र मजदुरका सङ्घ संस्थाका प्रतिनिधिसमेतको छलफलपछि उपत्यकाभित्रको जोरबिजोर प्रणाली हटाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । लामो समयको लकडाउन र निषेधाज्ञापछि सवारी साधन सञ्चालनमा आए पनि जोर-बिजोर प्रणाली कायम गरिएको थियो ।

जोर-बिजोर प्रणालीले सवारी साधनमा चाप बढ्दै गए पनि खुला गरिने भएको हो । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अनिवार्य रूपमा पालना गर्न उनले आग्रह गरे । सवारी साधनमा देखिएको यात्रुको चापको अवस्थालाई मध्यनजर गर्दै जोरबिजोर प्रणाली हटाउने निर्णय भएको उनले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जोरबिजोर प्रणाली लागू हुँदा स्वास्थ्य प्रोटोकल पालना गर्न समस्या पर्दै गएकोमा अब त्यो समस्या नहुने बताए । उनले यातायात मजदुर र यात्रुलाई अनिवार्य रूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरे ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसहित विभिन्न यातायात मजदुर सङ्गठनले शुक्रबारदेखि जोर-बिजोर प्रणाली उल्लङ्घन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए । कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । जोरबिजोर प्रणाली हटेपछि सार्वजनिक सवारीमा देखिएको चाप कम हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया