काठमाडौं, पुस ३ : काठमाडौं उपत्यकामा सवारी साधनमा लाग्दै आएको जोर बिजोर प्रणाली आजदेखि हटेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कम सार्वजनिक सवारी सञ्चालन रहँदा यात्रुको चाप बढी भई कोरोनाको जाखिम झन बढ्न सक्ने भन्दै जोरबिजोर प्रणाली हटाउने निर्णय भएको बताएको छ।
जोरबिजोर प्रणाली अनुसार यातायातका साधन संचालन गर्दा सार्वजनिक सवारी साधनको संख्या कम भई यात्रुहरुको चाप झन बढी भएकोले सर्वसाधारण यात्रुको असुविधा भएको समेत प्रशासनले विज्ञप्तिमा जनाएको छ।
शुक्रबार ३ गते विहान देखि लागू हुने गरी काठमाडौं उपत्यकामा सवारी साधन लगाइएको जोर विजोर प्रणाली हटाइएको काठमाडौं जिल्ला प्रमुख अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।
कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजोर प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए।