काठमाडौं, ३ पुस : देशैभरि कोरोना संक्रमण फैलिएको बेला मनाङमा भने संक्रमितको संख्या शून्य थियो । संक्रमितको संख्या घट्दो अवस्थामा मनाङमा शुक्रबार कोरोना संक्रमण देखिएको छ । जिल्लामा संक्रमण न्यूनीकरणका लागि सरकारी कर्मचारी र स्थानीय बासिन्दाबाहेक मनाङ प्रवेश गर्न ७२ घण्टाको नेगेटिभ पिसीआर अनिवार्य गरिएको छ ।
हालसम्म मनाङमा २८२ जनाको स्वाब सङ्कलन भएकामा १० जनाको कोरोना पोजेटिभ देखिएको जिल्ला स्वस्थ्य प्रमुख बद्री आचार्यले जानकारी दिए । उनका अनुसार नौ जना संक्रमित निको भएसँगै मनाङ शून्य रहेको हो । शून्य भएको धेरै दिनपछि शुक्रबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
ज्वरो, रुघाखोकीका कारण लमजुङ सदरमुकाम बेसीँशहरमा उपचार गराइरहेका नासो गाउँपालिकाका ५८ वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको हो । उनको उपचारकै क्रममा लमजुङबाट नै स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको र शुक्रबार संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयले जनाएको छ ।
उनको थप उपचारका लागि काठमाडौं लगिएको स्रोतले जनाएको छ । हालसम्म अधिकांश बाहिरी जिल्लाबाट यस जिल्लामा कार्यरत कर्मचारीमा सङ्क्रमण देखिए पनि पछिल्लो समयमा भने स्थानीयवासीमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले मनाङ जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार नासो गउँपालिकाका दुई र चामे गाउँपालिकामा एक स्थानीय संक्रमित पुष्टि भएको र दुई जना निको भइसकेका छन् । हाल जिल्लामा एक मात्रै संक्रमित रहेका छन् । अन्य बिरामी निको भएर घर फर्किसकेका छन् ।