मोडेर्नाले बनाएको खोप अमेरिकामा पनि अनुमति

admin

एजेन्सी, ३ पुस : अमेरिकाले कोरोना भाइरस विरुद्ध मोडेर्नाले बनाएको खोपलाई पनि अनुमति दिएको छ । मोडेर्नाले विकास गरेको खोपलाई पनि आपतकालीन रुपमा प्रयोगका लागि स्वीकृति दिएको अमेरिकाको नियामक निकाय फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)ले जनाएको छ ।

कोरोना भाइरस विरुद्धको लडाइँमा यो दोस्रो विकल्प भएको एफडीएले जनाएको छ । समाचार संस्था रोयटर्सका अनुसार यो खोप १८ वर्ष र १८ वर्षभन्दा माथिको उमेर समूहमा प्रभावकारी देखिएको छ । यसअघि एफडीएले मोडेर्नालाई खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिने सङ्केत गरेको थियो ।

एफडीएको सल्लाहकार बोर्डका विज्ञहरुले सर्वसम्मत रुपमा मोडेर्नाको खोप सुरक्षित तथा प्रभावकारी रहेको भन्दै स्वीकृति प्रदान गर्न सुझाव दिएका थिए । त्यसपछि प्रक्रिया पूरा गरेर एफडीएले स्वीकृति दिने निर्णय गरिसकेको रोयटर्सले उल्लेख गरेको छ ।

यसअघि एफडीएले फाइजर-बायोएनटेकले विकास गरेको खोपलाई गएको हप्ता स्वीकृति दिएको थियो । कोरोना विरुद्धको अर्को खोपले पनि अनुमति पाएपछि अमेरिकामा कोरोना भाइरसको नियन्त्रणमा आशा जागेको खबरमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया