आज १ दशमलव ६ डिग्री मापन, जाडो सुरु भएपछिकै काठमाडौंको तापक्रम कम

admin

काठमाडौं, ३ पुस : अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो बढेको छ । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेसँगै काठमाडौंमा शुक्रबार जाडो सुरु भएपछिकै कम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

बिहीबार काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री मापन गरिएको थियो । शुक्रबार बिहान पनि न्यूनतम तापक्रम २ दशमलव २ डिग्री नै मापन गरिएकोमा पछि घटेर १ दशमलव ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गएको वर्ष (शुक्रबार) आजकै दिन काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस रहेको थियो । यसपालि भने शुक्रबार १ दशमलव ६ डिग्री भएको छ । ‘सिजनल इफेक्ट’ ले न्यूनतम तापक्रम घटबढ भइरहेको मौसमविद् वरुण पौडेलले बताएका छन् ।

‘कुनै पनि मौसमी प्रणाली विकसित नभए काठमाडौंको न्यूनतम तापक्रम अबको दुई/तीन दिन एकदेखि दुई डिग्रीको हाराहारीमै रहन्छ’, मौसमविद् पौडेलले भने । तापक्रम घटेपछि काठमाडौं उपत्यकामा बढी चिसो महसुस गरिएको छ । दिउँसोपख घाम लागेको छ । तर बिहान र बेलुका बढी चिसो छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १८ दशमलव ३ डिग्री सेल्सियस पुग्नेछ । त्यस्तै शुक्रबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७ दशमलव ० डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको न्यूनतम तापक्रम ९ दशमलव ० डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया