शैक्षिक सत्र सकिनै लाग्दा वैकल्पिक सिकाइका लागि, सरकारद्वारा विद्यार्थीलाई निःशुल्क सिम

admin

काठमाडौं, ३ पुस : सरकारले वैकल्पिक सिकाइसँग जोड्नका लागि भन्दै ३९ लाख विद्यार्थीलाई प्याकेजसहितको निःशुल्क सिम दिन सुरु गरेको छ । शैक्षिक सत्र सकिन झण्डै ३ महिना मात्रै बाँकी हुँदा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थीको पढाइलाई निरन्तरता दिन निःशुल्क सिमसहित सरकारले कक्षा सञ्चालन गर्न लागेको हो ।

असोज १ देखि अहिलेसम्म २५ वटा विद्यालयका विद्यार्थीले सिम पाएका शिक्षा विकास तथा मानव स्रोत केन्द्रले जनाएको छ । सरकारले विद्यालय सञ्चार सञ्जालीकरण कार्यविधि-२०७७ स्वीकृत गरिसकेको छ । त्यही कार्यविधिअनुसार सबै विद्यार्थीले प्याकेजसहितको ‘क्लोज युजर ग्रुप’ (सीयूजी)’ सिम पाउनेछन् । वैकल्पिक सिकाइका लागि एउटा परिवारमा रहेका एक जना विद्यार्थीले मात्रै सिम लिन पाउनेछन् ।

देशभर कक्षा १ देखि १० सम्म पढ्ने विद्यार्थीको संख्या ७२ लाखभन्दा बढी छ । तर इन्टरनेटको पहुँच भएका जिल्लाका विद्यार्थी, बालविकास समूहका र कक्षा ११ र १२ का विद्यार्थीबाहेकका करिब ३९ लाख विद्यार्थीले यो सुविधा पाउने शिक्षा विकास तथा मानव स्रोत केन्द्रका सूचना अधिकारी डा. माधवप्रसाद दाहालले बताए । विद्यालयको सिफारिसमा अभिभावकले टेलिकमबाट सिम निकाल्नुपर्नेछ ।

सिकाइ अवधिभर सिम प्रयोगमा लागेको रकम नेपाल टेलिकमलाई गाउँपालिकाले भुक्तानी गर्नेछ । सिम पाएपछि विद्यार्थीले शिक्षकसँग जोडिएर निःशुल्क डाटा प्रयोग गरेर पढ्नुपर्नेछ । निःशुल्क सिम र डाटा लिएपछि केन्द्रको एप्स र डाटा पोर्टलसँग जोडिनुपर्नेछ । विद्यालयमा क्लोज यूजर्स ग्रुप बनाउनुपर्नेछ र तोकिएको समयमा पढ्नुपर्ने हुन्छ ।

प्रतिक्रिया