काठमाडौं, पुस ५ : परालले छाएको सानो छाप्रो। एकातिर काठ र अर्कातिर परालकै बोझाले बारबेर गरेर चिसो भुइँमा बनाइएको डसना। त्यसमाथि पातलो सुकुल ओछ्याइको छ। नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने राखिएको छ।
यो सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ सीतापुरका परमेश्वर पासवानको ओछ्यान हो। गत वर्ष शीतलहरमा यस्तै ओछ्यानमा कठ्यांग्रिएर उनकी पत्नी माकोदेवी पासवानको मृत्यु भएको थियो। यसपटकको शीतलहर कसरी कटाउने चिन्ताले उनलाई सताएको छन्।
सुकुमबासी परमेश्वरसँग एकसरो लुगाका भरमा शीतलहर कटाउनुपर्ने बाध्यता छ। उनका लागि जाडोको सहारा घुर हो। तीन दिनदेखि चलेको शीतलहरका कारण परमेश्वरसँगै सुकुमबासी बस्तीका अन्य पनि आत्तिएका छन्।
ऐलानी जग्गामा फुसको छाप्रो बनाएर परमेश्वरको परिवार बस्दै आएको छ। जेनतेन ओत लाग्ने ठाउँमा घुर बालेर जाडो छल्दै आएका उनलाई शीतलहरले निकै अत्याएको छ। उनले भने, ‘शीतलहर हामी गरिबका लागि कालै बनेर आउँछ।’ शरीर छोप्ने कपडा जोड्न मुस्किल भएका बेला ओढ्ने–ओछ्याउने न्यानो कपडाको जोहो आफूहरूका लागि आकाशको फल जस्तै भएको उनले बताए।
न्यानो ओढ्ने–ओछ्याउने नहुँदा गत वर्ष पत्नी गुमाउनुपरेको पीडाले अहिले पनि उनलाई सताएको छ। मौसम र सरकार दुवै गरिबमारा रहेको उनको बुझाइ छ। ‘ठन्ढियो गरिबे सबके उपर हमला करै छै (चिसोले पनि हामीजस्ता न्यानो जोड्न नसक्नेलाई नै हमला गर्दो रहेछ),’ उनले भने, ‘गरिब मरलो पर सरकार कोनो मोजर नै करै छै (गरिब मरे पनि सरकारले चासो देखाउँदैन)।’
चिसो सुरु भएपछि सरकारले लगाउन र ओछ्याउन न्यानो कपडाको प्रबन्ध गरिदिएको भए गरिबको प्राण जोगिने यहाँका विपन्न बासिन्दा बताउँछन्।
राजदेव पासवानले भने, ‘चुनावके बाद घरेमे सरकार यतै कहैछेलै (चुनाव भएपछि गाउँघरमै सरकार आउँछ भन्थे, अखनी तक सरकार याल जका नै बुझहाय (अहिलेसम्म सरकार भएको अनुभूति भएको छैन)।’ यो समाचार आजको नागरिक दैनिकमा मिथिलेश यादवले लेखेका छन् ।