देशभर चिसोको प्रभाव : चिसो बढेपछि मुक्त कमैया तथा भूमिहीन बस्तीमा दैनिकी कष्टकर

admin

काठमाडौं, ५ पुस : चिसो बढेसँगै अहिले देशभरको जनजीवन प्रभावित भएको छ । तराइका केही ठाउँहरुमा शीतलहर सुरु भएपछि मुक्त कमैया तथा भूमिहीन बस्तीमा दैनिकी कष्टकर बनेसँगै जाडो छेक्न समस्या भएको छ । तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ ।

तराईका केही जिल्लाहरुमा तापक्रम घट्दो क्रममा रहेको र निरन्तर हुस्सु लागिरहे तत्काल शीतलहर हुने सम्भावना बढेको मौसमविद्को भनाइ छ । शनिबार तराईका जिल्लामध्ये सबैभन्दा कम बाराको सिमरामा तापक्रम ४.५ डिग्रीमा झरेको थियो ।

केही दिनयता तराईका जिल्लाहरुमा दिनभरजसो हुस्सु लाग्ने र दिउँसोपछि बिस्तारै हटेर जाने गरेको छ । सामान्यतया ४८ घण्टासम्म घाम नदेखिने गरी बाक्लो हुस्सु र कुहिरो लाग्नुलाई शीतलहर भएको बुझिन्छ । त्यस्तै काठमाडौं उपत्यकामा आइतबार तापक्रम बढे पनि बाक्लो कुहिरो लागेकाले भिजिबिलिटी कम भएको छ ।

आइतबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । नेपालमा अहिले उत्तर-पश्चिमी वायुको प्रभाव रहेका कारण प्रदेश १, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बद्ली रहेको छ । बाँकी भू-भागमा मौसम सफा रहेको छ ।

आइतबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बद्ली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । त्यस्तै, आइतबार राति कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बद्ली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, कैलालीका बासिन्दाहरु चिसो बढेपछि अधिकांशमा रुघाखोकी, ज्वरोजस्ता समस्या सुरु भए छ । एकातिर कोरोना भाइरस संक्रमणको डर पनि बढेको छ । चिसो झेल्न बाध्य बनेका स्थानिय बासिन्दा भन्छन्, ‘चिसोमा काम गर्न कठिन हुन्छ, केही दिन काममा नजाँदा घरमा भएको सबै अन्न सकियो, ओहो हामी गरिबलाई जाडोमा पनि समस्या, गर्मीमा पनि समस्या ।’ ‘बिरामी भए पनि आफ्नो र परिवारको पेट पाल्न काम गर्नैपर्ने, स्थानीयको गुनासो छ ।

‘हरेक वर्षको जाडो छेक्न कठिन हुन्छ, सरकारले विपन्नको जीविकोपार्जनका लागि केही उद्योग, कलकारखाना खोलिदिएको भए सबैले रोजगार पाउँथे । आयआर्जन भए पो आवश्यकता पूरा हुन्छन् । उनीहरु भन्छन्, खेतीपाती गरौँ भने जमिन छैन, अनि मौसमले पनि सधैँ पीडा दिन्छ । शरीरमा लुगा छैन, दिनभरि काम गर्दा त जाडो भएको महसुस हुन्न तर राति चिसोले मुटु काप्छ ।’ कैलालीको तापक्रम छ डिग्री सेल्सियससम्म झरेको छ ।

प्रतिक्रिया