अन्नपूर्ण सुगर मिलले किसानको बक्यौता रकम भुक्तानी गर्न सुरु गर्‍यो

admin

काठमाडौं, ५ पुस : रौतहटमा रहेको अन्नपूर्ण सुगर मिलले किसानको बक्यौता रकम भुक्तानी गर्न सुरु गरेको छ । यस मिलले एक विज्ञप्ति प्रकाशन गर्दै आइतबारदेखि दैनिक एक करोड रुपैयाँका दरले रकम भुक्तानी गर्ने जनाएको हो ।

मिलले दैनिक एक करोड रुपैयाँका दरले किसानको खातामा रकम जम्मा गर्ने सूची तयार पारेको भन्दै जतिसक्दो चाँडो भुक्तानी गर्ने मिलका सञ्चालक राकेश अग्रवालले जानकारी दिए । उनका अनुसार गएको वर्ष किसानलाई अठार करोड रुपैयाँ भुक्तानी गरिएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्कअनुसार यस मिलले भुक्तानी गर्नुपर्ने रकम सत्र करोड रुपैयाँ छ । यसैगरी राकेश अग्रवाल सञ्चालक रहेको नवलपरासीमा रहेको इन्दिरा सुगर मिलले चार करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सबैभन्दा धेरै बक्यौता रकम रहेको श्रीराम सुगर मिलले गएको शुक्रबारदेखि भुक्तानी सुरु गरेको छ ।

यस मिलले सोमबारसम्म बक्यौता रकम भुक्तानी गरिसक्ने उद्योग मन्त्रालयमा सहमति गरिसकेको छ ।  मन्त्रालयमा गरेको सहमति अनुसार यस मिलले शुक्रबार छ हजार किसानलाई १६ करोड ४४ लाख ७० हजार रुपैयाँ ​ बक्यौता रकम भुक्तानी गरेको बताएको छ ।

गएको वर्षको पुस १८ गते सरकार, चिनी मिल र उखु किसानबीच भएको सम्झौता अनुसार रकम भुक्तानी नपाएको भन्दै गएको आइतबारदेखि उखु किसानले काठमाडौं आन्दोलन गर्दै आएका छन् । दुई मिलले बक्यौता रकम भुक्तानी गर्न सुरु गरे पनि अन्य मिलले भुक्तानी सुरु गरेका छैनन् ।

मन्त्रालयको तथ्याङ्कअनुसार लुम्बिनी चिनी मिलको आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलको चार करोड ७० लाख रुपैयाँ, अन्नपूर्ण सुगर मिलको १७ करोड रुपैयाँ र श्रीराम सुगर मिलको ३५ करोड गरी पाँच चिनी मिलबाट ६५ करोड ३१ लाख रुपैयाँ रकम भुक्तानी गर्न बाँकी रहेको छ । 

प्रतिक्रिया