काठमाडौं, पुस ५ : प्रधानमन्त्री केपी ओलीले सम्पूर्ण रुपमा निर्वाचनमा जुट्न निर्वाचन आयोगका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ । संसद भंग गरेर नयाँ निर्वाचन गराउने निर्णय लिनुभएका प्रधानमन्त्री ओलीले आज निर्वाचन आयोगका पदाधिकारीहरुसँग कुनै शंका नगरी निर्वाचनमा केन्द्रित हुन निर्देशन दिनुभएको हो ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र चाहनेले निर्वाचनको विरोध नगर्ने भन्दै सरकारको सम्पूर्ण ध्यान निर्वाचन गराउनेमा केन्द्रित हुने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आवश्यक पैसा, सुरक्षालगायत सबै विषयको व्यवस्था सरकारले मिलाउने आश्वासन पनि दिनुभएको थियो ।
आयोगका पदाधिकारीले भने निर्वाचन गराउनका लागि बजेट, कानुन, सुरक्षा, कर्मचारीलगायत पक्षको आवश्यकता पर्ने बताउनुभएको थियो । आयोग पदाधिकारीले भने निर्वाचन एकै चरणमा गर्नुपर्ने सुझाव दिएका थिए । सरकारले भने २०७८ सालको बैशाख १७ र २७ गते निर्वाचन गर्ने गरी घोषणा गरेको छ ।