युरोपेली केही राष्ट्रद्वारा बेलायतमा यात्रा प्रतिबन्ध

admin

काठमाडौं, ६ पुस : बेलायतमा युरोपेली केही राष्ट्रले यात्राको प्रतिबन्ध लगाएका छन् । कोरोना भाइरसको नयाँ संक्रमण बढेसँगै यात्रामा प्रतिबन्ध लगाइएको हो । आयरल्याण्ड, जर्मनी, फ्रान्स, नेदरल्याण्ड्स बेल्जियमलगायतले बेलायतसँगको हवाई उडान र यात्रामा प्रतिबन्ध लगाएका छन् ।

कोरोनाको नयाँ संक्रमण लण्डन र इङ्ग्ल्याण्डमा फैलिरहेको छ । युरोपेली युनियनले यस विषयमा समन्वय गर्न सोमबार छलफल गर्ने भएको छ । यसलाई मध्यनजर गर्दै युरोपका धेरैजसो देशले लकडाउनको योजना सार्वजनिक गरेका छन् ।

बेलायतमा बढ्दै गएको कोरोना भाइरसको नयाँ संक्रमणलाई कम गर्न लकडाउन गर्नु परेको बेलायती अधिकारीले बताएका छन् । बेलायतले पनि चौथो चरणको प्रतिबन्धात्मक नियम लागू गरेको छ । बेलायतले सबै नागरिकलाई घरमै बस्न भनेको छ ।

बेलायत सरकारले आउँदो क्रिसमस तथा नयाँ वर्षका अवसरमा धेरै भीडभाड हुनसक्ने सम्भावना रहेकोले नागरिकलाई घरबाट ननिस्कन आग्रह गरेको छ । कोरोनाको तेश्रो लहर सुरु भएको अष्ट्रेलियाको भिक्टोरिया राज्य र सिड्नी शहरमा कोरोना नियन्त्रणका लागि सीमानाका बन्द गरिएको छ ।

इटलीमा पनि सोमबारदेखि १५ दिनसम्म महामारी नियन्त्रणका विभिन्न उपायलाई सक्रिय गराइएको छ । अंग्रेजी नयाँ वर्ष र क्रिसमस नजिकिएकाले यस्तो बेला भीडभाड हुने र संक्रमण झन् फैलने भन्दै कडाइ गरिएको हो ।

प्रतिक्रिया