काठमाडौं, ७ पुस : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा सुरु भएको छ । ओलीको अध्यक्षतामा बैठक आरम्भ भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी केन्द्रीय कमिटीको बैठक अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको अध्यक्षतामा आरम्भ भएको जानकारी दिएका छन् ।
बिहान ९ बजेका लागि बैठक बोलाइएको भएपनि झण्डै डेढ घण्टा ढिला गरी सुरु भएको हो । ओलीले बोलाएको बैठकमा ओली समूहका सहित पूर्व माओवादी निकट टोपबहादुर रायमाझीसहितका केही नेतापनि सहभागी रहेको बताइएको छ ।
नेकपा नेता रायमाझी र मणि थापा केपी शर्मा ओली पक्षतिर छन् । नेकपा अध्यक्ष ओलीले बोलाएको केन्द्रीय समिति बैठकमा सहभागी हुन बालुवाटार पुगेका हुन् । रायमाझी र थापा पूर्वमाओवादी हुने भने पूर्व माओवादीकै लेखराज भट्ट पनि ओलीतिर लागिसकेका छन् ।
बैठकमा सहभागी हुन काठमाडौं उपत्यकाबाहिर रहेका सबै केन्द्रीय कमिटी सदस्यहरु काठमाडौं आएका छन् । बालुवाटारमा भइरहेको बैठकलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित दुर्घटनालाई रोक्न र निषेधित क्षेत्रमा विरोध प्रदर्शनका कार्यक्रम गर्न नदिन सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।
उक्त बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले आफूरुलाई अनुशासनको कारबाही गरे कसरी अगाडि बढ्नेलगायत समसामयिक विषयमा छलफल हुने छ । ओली पक्षले आफूहरुमाथि कारबाही भए पार्टी एकता भंग गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाका नेताहरु औपचारिक रुपमै विभाजित भएका छन् । मंगलबारको दुई समानान्तर बैठकहरु नेकपा विभाजनका लागि औपचारिक प्रस्थानबिन्दु हुने विश्लेषण गरिएको छ ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा विभाजनको डिलमा रहेको छ भने मंगलबार नै प्रचण्ड समूहले पनि केन्द्रीय समिति बैठक बोलाएको छ ।