काठमाडौं, ७ पुस : अर्थशास्त्री डा. कल्याणराज शर्माले चीनको प्रसिद्ध पहिलो ‘सिल्क रोड फ्रेन्डसिप अवार्ड’ प्राप्त गरेका छन् । यो अवार्ड यसै वर्षदेखि वितरण गर्न लागिएको हो । बेइजिङमा एक समारोहमा विश्वभरबाट छनोटमा परेका १० जनालाई अवार्ड प्रदान गरिएको हो ।
कोरोना भाइरस कोभिड-१९ का कारण डा. शर्मा उपस्थित हुन नसकेका कारण सो अवार्ड नेपाली राजदूतावास बेइजिङका द्वितीय सचिव श्रुति कडरियाले ग्रहण गरिन् । डा. शर्माले लामो समयदेखि नेपाल-चीन सम्बन्ध, सिल्क रोड सहकार्य र दुई देशबीच विविध सहकार्यका क्षेत्रमा काम गर्दै आएका छन् ।
उक्त अवार्ड प्राप्त गरेपछि डा. शर्माले थप जिम्मेवारीका साथ दुई देशबीचको सम्बन्ध जनस्तरमा समेत विस्तार गर्न थप योगदान दिने बताए । कार्यक्रममा नेपालको साँस्कृतिक, पर्यटकीय र नेपाल-चीन सहकार्य झल्किने भिडियो पनि प्रदर्शन गरिएको थियो ।
चाइना इन्टरनेशनल कल्चर एक्स्चेन्ज सेन्टर आयोजक रहेको उक्त अवार्ड वितरण समारोहमा चीन सरकारका उच्च अधिकारीहरु, विभिन्न देशका कूटनीतिज्ञ, साँस्कृतिककर्मीहरु लगायतको उपस्थिति थियो ।