भिजिट भिसामा ठगी बढ्यो

admin

काठमाडौं, ८ पुस : रोजगारीका लागि भिजिट भिसामा जाने क्रम बढेपछि गृह मन्त्रालयले व्यवस्थित गर्न छानबिन समिति गठन गरेको छ । रोजगारीका लागि भिजिट भिसामा जानु कानून त गलत हो । रोजगारीका लागि भिजिट भिसा लगाएर कसरी श्रमिकहरु गन्तव्य देशमा पुगे भनेर समितिले अहिले छानबिन गरिरहेको अध्यागमन विभागका सूचना अधिकारी टेकनारायण पौडेलले बताएका छन् ।

पछिल्लो समय रोजगारीको लागि विभिन्न देशमा राम्रो काम र कमाइ भएको प्रलोभन देखाउने र लाखौं रुपैयाँ ठगी गर्ने प्रवृत्ति बढेको छ । कतिपय श्रमिक यसरी भिजिट भिसामा रोजगारीका लागि जाँदा गन्तव्य देशमा पुगिसकेपछि बिचल्लीमा परेका छन् भने कतिपयलाई एजेण्ट र म्यानपावरहरुले स्वदेशमै लाखौं रुपैयाँ उठाएर ठगी गरिरहेका छन् ।

सूचना अधिकारी पौडेलका अनुसार कुन भिजिट भिसामा काम खोज्न हिँडेकाहरुले पनि भिजिट भिसामा जानका लागि जुन प्रक्रियाहरु पूरा गर्न पर्छ यदि त्यो गरेका पाइएमा रोक्न मिल्दैन । कानूनी प्रक्रिया पूरा गरेर हिँडेकालाई अनुहार हेरेर रोक्न नमिल्ने अध्यागमन विभाग बताउँछ ।

विदेशमा रोजगारीका लागि जाने हो भने वर्किङ भिसामा श्रम स्वीकृति लिएर जानुपर्ने प्रावधान छ । तर पनि घुम्ने भिसामा सयौं नागरिक रोजगारीका लागि यूएई लगायतका देशमा पुगेका छन् । श्रमिकहरु गन्तव्य देशमा पुगेर अलपत्र पर्दा अध्यागमन विभागले किन घुम्ने हिँडेका र घुम्ने भिसाको छाप लगाएर काम खोज्ने हिँडेका नागरिक छुट्टयाउन सकेन भन्ने प्रश्न उठ्ने गर्छ ।

भाषा पनि नजान्दा र एजेण्ट र म्यानपावरको जालझेलमा कहिलेकाही नेपालीहरु भिजिट भिसामा प्रतिबन्धित ठाउँमा पुग्ने पनि गरेका छन् । जसको कारण गन्तव्य देशमा निकै समस्याहरु भएका छन् । समूहमा घुम्न जाँदा समूहको एक जनाले अंग्रेजी जाने पनि यात्रा सहज हुन्छ तर एक्लै हिँडेको मानिसले कम्तीमा पनि आफू जाने ठाउँ र आफ्नो उद्देश्यबारे अंग्रेजीमा भन्न सक्ने हुनुपर्ने विभागको भनाइ छ ।

अधिकारी पौडेल भन्छन्, ‘अनुहार हेरेर घुम्नकै लागि हो र होइन भनेर भन्न त्यति सजिलो विषय भने होइन, तर छुट्याउनुपर्ने स्थिति भने छ, अहिले अध्यागमन कार्यालयमा हुने साथीहरुले विभिन्न आधारहरुमा छुट्टयाउने गर्नुहुन्छ । भिजिट भिसामा हिँडेका नागरिकको सबैभन्दा पहिला विभागले कानूनले तोकेको प्रक्रिया पूरा गरे नगरेको जाँच गर्छ ।

यदि कानूनी आधार र प्रक्रिया पूरा गरेर हिँडेको छ भने त्यस्ता नागरिकलाई विभागले रोक्न सक्दैन । तर पनि अध्यागमन अधिकृतहरुले घुम्नका लागि भिजिट भिसामा हिँडेकाहरुको विभिन्न पक्षहरु हेर्ने गरेको विभागले जनाएको छ । कोही कामकै लागि जान लागेको हो वा घुम्नको लागि भनेर व्यक्ति स्वयमसँग सोधिखोजी गर्दा पनि जवाफबाटै अनुमान गर्न सकिने पौडेल बताउँछन् । तर कहिलेकाहीँ थाहा हुँदा पनि प्रक्रिया पूरा गर्नेलाई रोक्न कानूनले नै प्रतिबन्ध लगाउदा अप्ठेरो हुने उनी बताउँछन् ।

अध्यागमन कार्यविधि २०६५ ले पासपोर्ट भिसा र दुईतर्फी टिकट भएको हुनुपर्ने भन्ने व्यवस्था यसअघि पनि गरेको थियो । घुम्न जाने हो भने एक हजार डलर लिएर जानुपर्ने वा कोही स्पोन्सर छ भने स्पोन्सर लेटर लिएर जानुपर्ने भन्ने व्यवस्था पहिले पनि थियो । जोखिम न्यूनीकरणका लागि र भिजिट भिसामार्फत अन्य प्रयोजनमा जानेक्रमलाई व्यवस्थित गर्न अहिले थप केही प्रावधान थप्ने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया