काठमाडौं, ८ पुस : करिब नौं महिनापछि हनुमानढोका क्षेत्रमा क्रमिकरूपमा पर्यटक आउन थालेका छन् । विश्वभरि फैलिएको कोरोना भाइरस संक्रमण त्रासका कारण गत चैतको पहिलो सातादेखि अवलोकनका लागि पूर्णरूपमा बन्द रहेको हनुमानढोका खुला भएसँगै आन्तरिक र बाह्य पर्यटक आउन थालेका हुन् ।
यहाँ अहिले दैनिक एक सय पर्यटक आउने गरेका छन् । आन्तरिकको तुलनामा बाह्य पर्यटक कम छन् । हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालका अनुसार हरेक दिन आगन्तुकहरु आउने क्रम बढेको छ । गएको मंसिर ३ गतेबाट पुनः सञ्चालनमा आएको वसन्तपुर क्षेत्रमा विद्यालय सञ्चालनमा नआएकाले आन्तरिक पर्यटक पनि अपेक्षाअनुरुप आएका छैनन् ।
यहाँ अवलोककर्ताको प्रवेश शुल्कबाट नै वार्षिक करिब रु १२ करोडसम्म असुल हुने गरेको थियो । प्रवेशका लागि विदेशीलाई रु एक हजार र नेपालीका लागि भने रु ३० निर्धारण गरिएको छ । राणाकालीन र मल्लकालीन वस्तुकला नै मुख्य आकषर्णको केन्द्र बनेको वसन्तपुर क्षेत्रमा भूकम्पका कारण पूर्णरूपमा क्षति भएको ऐतिहासिक सम्पदाको पुनःनिर्माणको काम पनि भइरहेको छ ।
अड्डाले गद्दी बैठक पनि अवलोकनकर्ताका लागि खुला गर्ने तयारी रहेको बताएको छ । भूकम्पकै कारण भत्किएको गद्दी बैठकको पुनःनिर्माण काम सम्पन्न भइसकेको छ । वसन्तपुरको प्रमुख सम्पदाको रूपमा रहेको काष्ठमाण्डप पनि आगामी बैशाखमा पुनःनिर्माण सम्पन्न हुने गरी निर्माणको काम अघि बढिरहेको छ । कोरोनाकै कारण केही समय पुनःनिर्माणको काममा बाधा आए पनि पछिल्लो समय तीव्ररूपमा काम भइरहेको छ ।