इजरायलमा संसद विघटन, दुई वर्षमा चौथो निर्वाचन हुने

admin

एजेन्सी, ८ पुस : प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले मंगलबार संसद विघटन गरेको छ । संसद भंग भएपछि देशमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने भएको छ । देशको संसदले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि मंगलबार इजरायलको संसद भंग गरिएको हो ।

इजरायल दुई वर्षमा चौथो चुनावको लागि अग्रसर हुने भएको छ । सम्भवतः अर्को वर्ष सन् २०२१ को मार्च २३ मा चुनाव हुने सिएएनएनले जानकारी दिएको छ । भंग गरिएको संसदको ३ वर्षे कार्यकालमा नेतान्याहू १८ महिना र गान्ट्ज १८ महिनाको लागि आलोपालोमा प्रधानमन्त्री बन्ने सहमति थियो । जसअनुसार सन् २०२१ को नोभेम्बरबाट गान्ट्ज इजरायलको प्रधानमन्त्री बन्ने तयारी थियो ।

गान्ट्जले सन् २०२१ को लागि प्रस्ताव गरेको बजेट अनुमोदनको लागि नेतान्याहूले अस्वीकार गरेका हुन् । नेतन्याहू र उनका प्रतिद्वन्द्वी रक्षामन्त्री बेनी गान्ट्जको नेतृत्वमा गठबन्धनले २०२० को बजेट स्वीकृत गर्न मध्यरात्रको म्याद गुमाएपछि संसदको स्वतः भंगलाई बाध्य तुल्याएको थियो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनको गठबन्धनका सांसदहरुले सरकारको पतनका लागि एक अर्कालाई दोष दिएका छन् ।

कोरोना भाइरसको महामारी चलिरहेको अवस्थामा नेतन्याहूलाई पुनः चुनावको लागि बाध्य हुनुपर्ने अवस्था रहेको छ । नेतन्याहूमाथि लामो समयदेखि पर्खाइमा रहेको भ्रष्टाचारको मुद्दा झनै तीव्र हुँदै गइरहेको छ । नेतान्याहूको दक्षिणपन्थी लिकुड र गान्ट्जको ब्लू एन्ड ह्वाइट पार्टीको नेतृत्वमा रहेको गठबन्धनले सन् २०२० को बजेट पारित गर्न मध्यरात्रिसम्म प्रयास गरेपनि सफल हुन सकेको थिएन ।

प्रतिक्रिया